नेकपा एमाले विवाद समाधान कार्यदलको बैठक आज (बुधबार) पनि बस्दैछ । बैठक ब्धबार बिहान साढे १० बजे बस्नेछ ।
आजको बैठकमा सहमतिका केही बुँदाहरु टुंगिने सम्भावना रहेको छ ।
संसद् विघटन सम्बन्धमा सर्वोच्चको फैसला (असार २८) आउनुअघि नै एमाले विवाद समाधान हुन सक्ने कार्यदलको सदस्यको दाबी छ ।
एमालेका सबै संरचनालाई जेठ २ अघिको अवस्थामा फर्काउने र नेकपाकालीन कमिटी तथा व्यक्तिहरुसहितको पार्टी एकता कायम गर्ने सन्दर्भमा छलफल केन्द्रित छ ।
गत जेठ २ गते गठन गरिएको कार्यदल बीचमा निष्क्रिय भएको थियो । असार २० गते एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका नेता तथा उपाध्यक्ष भीम रावलबीच भेटवार्ता भएको भोलिपल्टदेखि नै कार्यदल पुनः सक्रिय भएको छ । कार्यदलको बैठक सोमबार र मंगलबार पनि बसेको थियो ।
कार्यदलमा एमाले संस्थापन पक्षबाट संयोजक सुवास नेम्वाङसहित, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् भने नेपाल पक्षबाट नेताहरु संयोजक रावल, घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त छन् ।