काठमाडौं– अर्थमन्त्रीसमेत रहेका डा. युवराज खतिवडाले सञ्चार तथा सूचना प्रविधि मन्त्रीको जिम्मेवारी सम्हालेका छन्।अर्थमन्त्रीसमेत रहेका खतिवडाले सञ्चार मन्त्रालय खाली भएपछि सो मन्त्रालयको पनि जिम्मेवारी सम्हालेका हुन्।
घूस काण्डमा मुछिएका गोकुल बाँस्कोटाले राजीनामा दिएपछि सञ्चार मन्त्रालयको जिम्मेवारी खतिवडालाई दिइएको हो। ७० करोडको कमिसनको अडियो प्रकरणपछि सूचना तथा संचार प्रविधिमन्त्री गोकुल बास्कोटाले राजिनामा दिएका थिए। त्यसपछि रिक्त रहेको यो मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले खतिवडालाई तोकिदिएकी हुन्।
पदभार ग्रहण गर्दै उनले बजेट निर्माणकै क्रममा समेत आफूले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय महत्वपूर्ण मन्त्रालय भएको महसुस गरेको र आजको ब्रिफिङबाट समेत यसको महत्व र गरिमा बुझेको स्पष्ट पारे।
संविधानले सुनिश्चितता गरेको प्रेस स्वतन्त्रलाई सम्मान गर्ने भन्दै उनले प्रेस स्वतन्त्र र निर्भिक हुनुपर्ने आफ्नो धारणा रहेको उल्लेख गरे। राज्यको पुनर्संरचना गर्ने समय भएका कारण सरकार गठन भएको दुई वर्ष अघिल्लो दुई वर्षहरुभन्दा फरक रहेको भन्दै यस समयमा धेरै काम भएको डा. खतिवडाले बताएका छन्।
खतिवडाले संविधानले नै प्रेस स्वतन्त्रताको हक दिएकाले त्यसको परिपालन गराउन सरकार क्रियाशिल रहेकाे जनाउँदै संचार माध्यम निर्भिक, स्वतन्त्र रहनुपर्ने बताए।