काठमाडौं– वाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले मानवअधिकारबिना सुशासन कायम गर्न नसकिने बताए। आज हेटौँडामा आयोजित एम्नेस्टी इन्टरनेशनल नेपाल समूह ६७औँ को वार्षिकोत्सवमा बोल्दै उनले देशमा मानवअधिकारको रक्षा नगरेमा सुशासन कायम गर्न सरकारलाई समस्या हुने भन्दै सुशासन कायम गर्न मानवअधिकार आवश्यक छ भने।
उनले मानवअधिकारसम्बन्धी कानून हुँदाहुँदै पनि कहिलेकाहीँ कार्यान्वयन पक्ष अलि फितलो भइदिँदा उल्लङ्घनका घटना हुने गरेको बताए। सभामुख श्रेष्ठले भने,“संविधानले मानवअधिकारलाई प्रत्याभूत गरेको भएता पनि अधिकारलाई व्यवस्थित, मर्या्दित र सहज ढङ्गले सदुपयोग गर्न नजान्दा मानवअधिकारको रक्षा गर्न नसकिएको हो।”
उनले सरकारलाई मानवअधिकार उल्लङ्घन हुन नदिनका लागि कार्यान्वयन पक्षमा जोड दिन आग्रह गरे। कार्यक्रममा मानवअधिकारकर्मी स्व इन्द्रबहादुर श्रेष्ठ स्मृति मानवअधिकार सम्मान २०७६ बाट कूटनीतिज्ञ तथा पूर्व सांसद हिरण्यलाल श्रेष्ठलाई नगद रु १० हजारसहित सम्मान गरिएको थियो।