काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एसिसी) को अध्ययन गर्न गठित कार्यदलले आज आफ्नो प्रतिवेदन नेकपाका अध्यक्षद्वयसमक्ष बुझाएको छ।
शुक्रबार बसेको कार्यदलको बैठकले सुझावसहित तयार पारेको प्रतिवेदन शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अध्यक्षद्वयलाई बुझाएको हो। प्रतिवेदन बुझाएपछि एमसिसीका सम्बन्धमा के निर्णय गर्नुपर्छ भन्ने कुरा नेकपा नेतृत्वले छलफल गर्नेछ। नेकपाकाे सम्बन्धित निकायमा छलफल गरिएपछि आवश्यक निर्णय केन्द्रीय कमिटी बैठकले गरे अनुसार हुने बताइएकाे छ।
पार्टीको गत माघ १५ देखि १९ गते सञ्चालन भएको केन्द्रीय कमिटी बैठकले एमसिसी सम्झौताबारे अध्ययन गर्न वरिष्ठ नेता खनालको संयोजकत्वमा स्थायी कमिटीका सदस्य रावल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली रहेको कार्यदल गठन गरेको थियो।
दश दिनको समयसीमा तोकेर प्रतिवेदन बुझाउने निर्णय गरे पनि कार्यदलले उक्त समयसीमामा प्रतिवेदन बुझाउन नसकिने जनाई थप दश दिन माग गरेको थियो। कार्यदलको गत माघ २९ गते नै कार्यदलको समय सकिएको थियो। पछि नेकपाले थप दश दिनको समय थपेको थियो।