काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले कम्युनिस्टहरु सत्तामा पुगेपछि भ्रष्टाचारमा लिप्त भएको बताएका छन्।
नारायणविलास जोशी स्मृति प्रतिष्ठानको भवन शिलान्यास कार्यक्रममा अध्यक्ष प्रचण्डले सत्तामा पुगेपछि कम्युुनिष्टहरुमा लोभ, भ्रष्टाचारजन्य क्रियाकलापमा देखिने गरेको बताए। उनले हिजो मृत्युलाई पनि सामना गरेर जस्तो सुकै तपस्या गर्नेहरु सत्तामा पुगेपछि जनताका कामहरु गर्न छाड्ने र कम्युनिष्ट सिद्धान्तबाट विचलित हुने गरेको जनाए।
जनतासँग घुलमिल हुन भएर जनता जस्तै जीवनशैली अपनाउन सक्नेहरु सत्ता प्राप्त गरिसकेपछि कहीं न कहीं त्यो आदर्शबाट विचलित हुने गरेको भन्दै नेपालमा पनि त्यसका संकेतहरु देखिएको उल्लेख गरे।
उनले कम्युनिष्टहरु सत्तामा पुगेपछि आफ्नो आदर्शबाट विचलित हुने गरेको विश्व इतिहास नै रहेको भन्दै नेपालमा घटेका पछिल्ला घटनाहरुले राम्रो संकेत नदेखिएको समेत बताए।