भक्तपुर – नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आदर्शबाट च्युत भएपछि कम्युनिस्ट नेता र नेतृत्वले आफैलाई सिध्याउने गरेको बताएका छन्। शुक्रबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले विश्व इतिहासमा कम्युनिष्ट पार्टीको पतन हेर्दा नेपालमा पनि खतराका संकेत देखिएको जनाएका हुन्।
‘कम्युनिस्टहरू आफ्नो आदर्शबाट च्युत भएपछि, आफ्नो उद्देश्य र वैचारिक निष्ठाबाट विचलित भएपछि पुँजीपति पनि चाहिँदो रहेनछ, सेना पनि चाहिँदो रहेनछ, बन्दुक पनि चाहिँदो रहेनछ। आफैंले आफैंलाई सिध्याउँदा रहेछन्।,’ प्रचण्डले भने। सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा एउटा कमिसन काण्डमा मुछिएर राजीनामा दिएको भोलिपल्ट नेकपा अध्यक्ष प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन्।
उनले नेपालका कम्युनिष्ट संस्कृति, संस्कार, विचार, राजनीति प्रवृत्तिहरूमा थुप्रै समस्याहरु बढेको जनाए। प्रचण्डले भने, ‘कम्युनिष्ट पार्टी सत्तामा नहुँदा, आन्दोलनमा हुँदा, क्रान्तिमा हुँदा, निकै ठूलो त्याग गर्न सक्ने, तपस्या गर्न सक्ने, जनतासँग घुलमिल हुनसक्ने, जनता जहाँ बस्छन् त्यही बसेर खाएर जनताको मन जित्नचाहिँ सक्ने र नभएको सत्ता प्राप्त गर्न सक्ने कम्युनिष्ट पार्टीले सत्ता प्राप्त गरिसकेपछि कहिँ न कहिँ त्यो आदर्शबाट विचलित हुने गरेका थुप्रै पात्रहरु विश्व इतिहासमा छन्।,’
उनले भने, “पहिलो र दोस्रो युद्धमा निर्ममताका साथमा ज्यान गुमाएको कम्युनिष्ट पार्टीका नेताहरू र कम्युनिष्ट नेतृत्व नै आफूले आफैंलाई सिध्याएको छ।”उनले कम्युनिष्टहरू सत्तामा पुगेपछि जनताबाट टाढिने गरेको पनि बताए। उनले नेपालको उदाहरण पनि पेश गरे।
प्रचण्डले भने, ‘हिजो मृत्युलाई सामना गरेर, जस्तोसुकै तपस्या गर्न तयार हुने, प्रतृक्रियावादीका जेलनेल यातना र मृत्युलाई पनि हाँसीहाँसी सामना गर्न सक्ने मानिस शासन हातमा आइसकेपछि विस्तारै अर्कैअर्कै हुने, जनताबाट अलिअलि कटेकोजस्तो हुने र जनभावनालाई सम्मान गर्न नसकेको जस्तो देखिने गरेको छ,।’