हेटौँडा– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विभिन्न आन्दोलनमार्फत प्राप्त जनादेशअनुरूप देशमा आर्थिक समृद्धि र सुशासन कायम गर्नुपर्ने अहिलेको आवश्यक भएको बताए।
७०औँं प्रजातन्त्र दिवसको अवसरमा उनले बागमती प्रदेश सरकारद्वारा आज हेटौँडामा आयोजित कार्यक्रममा उनले भने, “संविधान जारी भएसँगै निर्वाचनमार्फत सङ्घीय, प्रदेश तथा स्थानीय तह गठन भइसकेका छन्। नयाँ व्यवस्था, नयाँ अनुभवको प्रदेश सरकार गठन सबैका लागि नौलो छ। आर्थिक, सामाजिक रूपान्तरणसहित आमजनताको जीवनस्तर सुधार गर्ने लक्ष्यका साथ गठन भएको वर्तमान सरकार विकास र समृद्धि ल्याउनेमा दृृढ रहेको विश्वास दिलाउन चाहन्छु।”
सरकारको राम्रा कामको बारेमा जनतालाई सुसूचित गर्न आग्रह गर्दै उनले राजनीतिक दलको नेतृत्वले आ–आफ्नो दलको स्वार्थभन्दा माथि उठेर संविधान, प्रजातन्त्रणमा सुदृढिकरण र राष्ट्रियताको संरक्षणको लागि एकै ढिका भएर हिड्नुपर्ने अवस्था आएको बताए। कार्यक्रममा बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सरकारले आफ्नो क्षेत्रमा सुशासन ल्याउन र दिगो शान्तिसुरक्षा तथा विकासको पूर्वाधारलाई कार्यान्वय तर्फ जोड दिनुपर्ने विश्वास व्यक्त गरे।