काठमाडौं– पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराइले प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी ओलीले मातातीर्थको जग्गासम्बन्धी गरेकाे निर्णयप्रति असन्तुष्टी जनाएका छन्।
शनिबार प्रधानन्त्री केपी शर्मा ओली प्रतिनिधिसभामा सम्बोधन गर्दे मातातीर्थको जग्गाको विषयमा पनि ललिता निवास जग्गा प्रकरण जस्तै छानबिन हुने बताएपछि भट्टराइले त्यसमा आपत्ती जनाएका हुन्। डा.भट्टराईले सत्यतथ्य नबुझी राजनीतिक प्रतिशोधको मनशायले प्रधानमन्त्री केपी शर्मा ओलीले २०२६ सालमै राजा महेन्द्रले बिर्ता त्यागी रैकरमा परिणत गरेको मातातिर्थको जोताहा र मोहीको जग्गासम्बन्धी भ्रम छरेको भन्दै आपत्ति जनाएका हुन्।
ओलीको यो प्रतिबद्धताले मातातीर्थको जग्गाकाण्डमा डा. भट्टराई तानिने देखिन्छ। २०६८ भदौ १२ गतेदेखि २०६९ चैत ३० सम्म डा. भट्टराई प्रधानमन्त्री थिए। उक्त समयमै मातातीर्थको जग्गा नक्कली मोहीका नाममा सार्ने निर्णय भएको खुलेको छ।
आफू प्रधानमन्त्री भएका २०६९ सालमा भएको नीतिगत निर्णयलाई अनावश्यकरुपमा उछालिएको उनको दाबी छ। प्रधानमन्त्रीले अरुमाथि हिलो छ्यापेर आफ्नो आंगको फोहर पखाल्ने प्रयास गरेको पनि उनले आरोप लगाए।
भट्टराइले ट्विटमा प्रधानमन्त्री ओलीलाई मेन्सन गर्दै लेखेका छन्, ‘सत्यतथ्य नबुझी राजनीतिक प्रतिशोधको मनसायले देशको प्रधानमन्त्री केपी शर्मा ओलीले २०२६ सालमै राजा महेन्द्रले बिर्ता त्यागी रैकरमा परिणत गरेको मातातीर्थको जोताहारमोहीको जग्गासम्बन्धी मेरो मन्त्रिपरिषदको नीतिगत निर्णयलाई उछालेर संसद र जनतालाई भ्रम छर्नु आपत्तिजनक छ।’