काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समृद्ध प्रदेश बनाउन दीर्घकालीन सोच र योजनाका साथ सरकार अघि बढेको बताएका छन्।
प्रदेश सरकार स्थापनाको दोस्रो वर्ष पूरा भएको अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै उनले सरकारको पहिलो वर्षलाई प्रादेशिक नीति तथा संरचना निर्माणको रुपमा लिइएको र यसको जगको आधारमा सवल र समृद्ध गण्डकी प्रदेश निर्माण गर्ने उल्लेख गरे।
‘हाम्रा पाइलाहरु गतिवान हुँदैछन् र हाम्रा अनुभवहरु खारिँदै गइरहेका छन्। प्रदेशको सफलतासँगै संघीय शासन व्यवस्थाको सफलता गाँसिएको छ,’ संघीयता कार्यान्वयनका क्रममा आत्मविश्वास र ऊर्जा बढिरहेको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले भने।
सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तका आधारमा संघ, प्रदेश र स्थानीय तहको सम्बन्ध स्थापित गर्नुपर्नेमा जोड दिँदै उनले लोकतन्त्रको आधारभूत मूल्य मान्यता, बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, पूर्ण प्रेस स्वतन्त्रता र शक्ति पृथकीकरणको सिद्धान्तमा प्रदेश सरकार दृढ रहेको उल्लेख गरे।
विभिन्न क्षेत्र समुदाय र वर्गको सुझाव, सल्लाहलाई आत्मसात् गर्दै समृद्ध प्रदेश सुखी नागरिकको आकाङ्क्षा सफल पार्न सरकार तत्पर रहेको मुख्यमन्त्री गुरुङले सन्देशमा जनाएका छन्।