काठमाडाैं - प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण प्रतिनिधिसभाको आजको बैठक पनि अवरुद्ध भएको छ। बैठकको प्रारम्भमै काँग्रेसका सांसदहरु आशनबाट उभिएर विरोध जनाएपछि सभामुख अग्निप्रसाद सापकोटाले सांसद मीनबहादुर विश्वकर्मालाई बोल्न समय दिए।
सांसद विश्वकर्माले काँग्रेसका उपसभापति विजयकुमार गच्छदारविरुद्ध राजनीतिक पूर्वाग्रहबाट प्रेरित भई मुद्दा दायर गरिएको भन्दै बैठक सञ्चालनमा सहयोग गर्न नसकिने बताए। उनले बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा कसैलाई काखा र कसैलाई पाखा हुने गरी सरकारको निर्देशनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको आरोप लगाए।
काँग्रेसले यही विषयमा विरोध जनाउँदै बिहीबार पनि प्रतिनिधिसभाको बैठक अवरोध गरेको थियो। यही माघ २२ गते आयोगले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा उपसभापति गच्छदारलगायत १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
सांसद विश्वकर्माको भनाइपछि पनि काँग्रेसका सांसदहरु आफ्नो आशनबाट उभिएर विरोध जनाइरहँदा सभामुख सापकोटाले पटकपटक बैठक सञ्चालन गर्नका लागि आग्रह गरे उनले बैठक अवरोध गरे सो विषयको समाधान नहुने भन्दै सदनलाई जीवन्त र प्रभावकारी बनाउनका लागि बैठकमा छलफल सञ्चालन गर्नुपर्ने आग्रह गरेका थिए।
सभामुखको उक्त आग्रहपछि पनि प्रतिपक्षी दलका सांसदहरुले उभिएर विरोध जनाइरहेका कारण सभामुखले बैठक आधा घण्टाका लागि स्थगन गरेको घोषणा गरे। प्रतिपक्ष दलले उक्त प्रकरणमा निर्णयमा प्रत्यक्षरुपमा संलग्नलाई उन्मुक्ति दिएर संलग्न नै नभएका व्यक्तिलाई छानी छानी राजनीतिक आस्थाका आधारमा अभियोग लगाएको आरोप लगाएको छ। रासस