मोरङ– प्रदेश १ को बिराटनगरमा जारी हिउँदे तथा विधेयक अधिवेशनमा संसदीय दलका नेताहरुले प्रदेशको नामाकरण यहि अधिवेशनबाट टुंगाे लगाउने सहमति गरेकाे बताइएकाे छ। मुख्यमन्त्री शेरधन राईले चालु हिउँदे अधिवेशनमै प्रदेशको नाम टुंगो लगाउन सरकार प्रतिबद्ध रहेको जनाएका छन्।
उनले सहमतिमा प्रदेशको नामाकरण टुंगो लगाउन प्रदेश सरकारले अन्तिम समयसम्म सहजिकरणमा सहयोग पुर्याउने धारणा राखे। हिउँदे तथा पाँचौँ अधिवेशनको पहिलो दिन बिहीबार दलका नेताहरुले जारी अधिवेशनमै प्रदेशको नामाकरण चाँडो टुंगो लगाउन जोड दिएका छन्।
प्रदेश सभामा मुख्य प्रतिपक्षी दल कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीले जारी हिउँदे अधिवेशनमै प्रदेशको नामाकरण टुंगो लगाउन माग गरे। समाजवादी पार्टीका नेता जयराम यादवले संबिधानको मर्मलाई ख्याल गर्दै जारी अधिवेशनमै सहमतिमा प्रदेशको नाम टुंगो लगाउनुपर्ने जनाए।
राप्रपाकी नेता ईन्दीरा राईले प्रदेशको नामाकरण टुंगो लगाउन ढिलाई गर्न नहुने बताए। संघीय लोकतान्त्रिक मञ्चकी नेता बिष्णु तुम्बाहाम्फेले आधुनिकताका नाममा पहिचानलाई बेवास्ता गरेमा शान्त नेपाल र सुखी नेपालीको नारा सफल नहुने भन्दै प्रदेशको नाम किराँत लिम्बुवान राख्न माग गरेकी छिन्।
एक नम्बर प्रदेश सभामा सत्ताधारी दल नेकपाको ६७ कांग्रेसको २१, संघीय समाजवादीको ३, राप्रपा १ र लोकतान्त्रिक मञ्चको १ सांसद छन्। संबिधानमा व्यवस्था भए अनुसार प्रदेश सभाको दुई तिहाई बहुमतले नामाकरण गर्न सक्नेछ। एक नम्बर प्रदेशको नाम लिम्बुवान, किराँत , लिम्बुवान किराँत, किराँत लिम्बुवान र कोच, कोशी, सगरमाथा, कोशी सगरमाथा , मेची प्रदेश, विराट, कञ्चनजंघा, बिजयपुर प्रदेश लगायत हुनुपर्ने माग गरिएकाे छ।