काठमाडौं – चीनबाट उद्धार गरिने नेपालीलाई चार स्थानमा राखिने भएको छ। सरकारले चीनबाट आउने नेपालीहरुको लागि शिवपरी, इचंगुनारायण, सुर्यविनायक र खरिपाटीमा गरी चार स्थानमा क्वारेन्टाइन स्थल व्यवस्थित गर्ने भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विहीबार सम्बद्ध मन्त्रालयका मन्त्री र उच्च सरकारी अधिकारीहरुको बैठकमा नोवल कोरोना भाइरसको संक्रमणको खतरालाई मध्यनजर गर्दै नागरिकको स्वास्थ्य र सुरक्षाका निम्ति समग्र तयारीमा जुट्न सम्वद्ध मन्त्रालय र निकायहरूलाई निर्देशन समेत दिए।
चीनमा कोरोना भाइरसको संक्रमण फैलिएपछि १ सय ८० नेपाली विद्यार्थीले स्वदेश फर्किन चीनस्थित नेपाली दूतावासमा निवेदन दिइसकेका छन्। उनीहरुले आफ्नो उद्दार नगरेकोमा सरकारको आलोचना गरिरहेका छन्। प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको बैठकमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञज्ञवाली, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, पर्यटनमन्त्री योगेश भट्टराई लगायत उच्च अधिकारीहरु सहभागी थिए।
काेराेना भाइरसका कारण चिनलाइन नेपालले १ लाख संख्यामा प्रोटेक्टिभ माक्स चीन सरकारलाई सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।