काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक अवरूद्ध गरेको छ। राजनीतिक पूर्वाग्रहका आधारमा उपसभापति विजयकुमार गच्छदारलाई मुद्दा चलाइएको भन्दै त्यसविरुद्ध पार्टी र भातृ संस्था परिचालन गर्ने नेपाली कांग्रेसले निर्णय गरेको छ। बिहीबार सभापति निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो।
पार्टी उपसभापति विजयकुमार गच्छदालाई भ्रष्टाचारको आरोपमा मुद्दा दायर भएपछि नेपाली कांग्रेसले आपत्ति जनाएको थियो। कांग्रेस सांसदहरूले उठेर विरोध गरेपछि सभामुख अग्नि सापकोटाले बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका छन्। प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले विजय कुमार गच्छदारमाथि भ्रष्टाचार मुद्दा लगाइनु राजनीतिक प्रतिशोध भएको बताएकी छन्।
अख्तियारले राजनीतिक दबाबमा परेर मुद्दा दायर गरेको उनको दावी थियो। प्रमुख प्रतिपक्षी दल कांग्रेसले गच्छदारमाथिको आरोपबारे आधिकारीक धारणा सार्वजनिक गर्न आज अपरान्ह सवा ४ बजे पत्रकार सम्मेलन डाकेको छ। गच्छदार उपप्रधान तथा भौतिक योजना मन्त्रीहुँदा निवास विस्तारको निर्णय भएको थियो। सो निर्णयको आधारमा मोही नै नभएका १४ जना नक्कली मोही कायम गराएर १३ रोपनी बढी सरकारी जग्गा ब्यक्तीको नाममा गरेको खुलेको थियो।
तत्कालीन सचिव दीप बस्न्यातको हस्ताक्षर रहेको प्रस्तावमा ‘नेपाल सरकार समरजंग कम्पनीको नाममा ललिता निवासको क्याम्प क्षेत्रको चार किल्लाभित्र रहेको २७ रोपनी ७ आना २ पैसा १ दाम सरकारी जग्गामा मोही भाग कट्टा गरी बाँकी रहेको १३ रोपनी ११ आना ३ दाम जग्गा र साविक बाटो तथा राजकुलोसमेतको क्षेत्रफल १५ आना गरी १४ रोपनी १० आना, तीन दाम जग्गा मिलान गरी प्रधानमन्त्री निवास क्षेत्र परिसर दक्षिणतर्फ विस्तार गर्ने उल्लेख थियो ।
सो निर्णय गर्दा माधवकुमार नेपाल प्रधानमन्त्री थिए। मन्त्रीपरिषद् निर्णय अख्तियारले हेर्न नमिल्ने भन्दै उनलाई प्रतिवादी बनाइएको छैन।ललिता निवासको जग्गामा छानी छानी अख्तियारले मुद्दा चलाएको कांग्रेसको बुझाइ छ।