काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बेलायती राजदूत निकोला पोलिटबिच भेटवार्ता भएको छ। अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बिहीबार बिहान शिष्टाचार भेटवार्ता भएको हो।
प्रचण्डको सचिवालयको अनुसार भेटवार्तामा दुई देशबीचको सम्बन्ध, नेपाली राजनीति, आर्थिक विकास र नेपालको शान्ति प्रक्रियाबारे छलफल भएको छ। तर शान्ति प्रक्रियाबारे के–के कुराकानी भयो भन्ने बारेमा भने दुवै पक्षले खुलाएका छैनन्।
अध्यक्ष प्रचण्डले नेपालको विकासमा बेलायत र बेलायती जनताले गर्दै आएको सहयोग र खेलेको भूमिका सह्रानीय भएको बताएका थिए। ‘नेपाल र बेलायतबीच सयौं वर्षदेखिको मित्रता रहेको छ। तपाईंको कार्यकालमा नेपाल र बेलायतको सम्बन्ध अझै प्रगाढ रहने मैले विश्वास लिएको छु,’ प्रचण्डले भने।
भेटका अवसरमा अध्यक्ष प्रचण्डले आर्थिक नेपालको समृद्धिको अभियानमा बेलायतको सहयोग अपरिहार्य रहेको पनि बताएका थिए। भेटमा बेलायती राजदूत निकोलाले आफू २० वर्ष पहिले शोधकर्ताका रूपमा नेपाल आएको र अन्नपूर्ण क्षेत्रमा ट्रेकिङ गरेको स्मरण गर्दै नेपालको विकासमा बेलायत सरकारको सहयोग रहने बताएकी थिइन्।