काठमाडौं– सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चीनबाट फैलिएको कोरोना भाइरसले नेपाल भ्रमण वर्ष २०२० लाई थोरै असर पुर्याएकाे बताएका छन्।
बुधबार पोखरामा पर्वतारोहण संघले गरेको शान्ति पूजाको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले उत्साह, उच्च आकांक्षा लिएर नेपाल पर्यटन भ्रमण वर्ष मनाइरहेको अवस्थामा कोरनाले ठेस पुर्याएकाे जनाएका हुन्।
‘कोरोना भाइरसले ठेस पक्कै पनि लागेको छ। तुरुन्तै नियन्त्रणमा आउँछ। चीन सरकारले चामत्कारिक हिसाबले अस्पताल बनाउने र भ्याक्सिन पत्ता लगाउने प्रक्रिया अगाडि बढाइसकेको छन्,’ प्रचण्डले भने, ‘नेपालमा कोरना भाइरसको संक्रमण देखिएको छैन। नेपाल सरकारले उद्धारको पहलकदमी लिइसकेको छ। त्रसित हुनुपर्ने अवस्था छैन। चीनमा पनि छिट्टै नियन्त्रण हुन्छ।’
नेपालमा कोरोनाबाट त्रसित हुनुपर्ने अवस्था छैन भन्ने सन्देश प्रवाह गर्दै भ्रमण वर्षलाई सफल पार्न योगदान गर्नुपर्ने प्रचण्डको भनाइ छ। पोखरालगायत नेपालका पर्यटकीय ठाउँमा पर्यटक आवागमन घटेका विवरण आइरहेका छन्।