काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिलिनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) बारे अध्ययन गर्न पार्टीले गठन गरेको समितिले पेश गर्ने प्रतिवेदन हुबहु पास नहुने बताएका छन्।
प्रेस संगठन नेपाल कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले एमसीसीबारे अध्ययन गर्न बनाइएको तीन सदस्यीय समितिले ल्याएको प्रतिवेदन पार्टीमा छलफल पछि निर्णयमा पुग्ने जनाए। छोटो समय लिएर सबैले बुझ्नेगरी यसको प्रतिवेदन तयार पारौं भनेर कार्यदल गठन गरिएको उनले बताए।
‘कार्यदलको प्रतिवेदन आइसकेपछि जे ल्याए, त्यही पास हुन्छ भन्नेचाहिँ होइन’, प्रचण्डले भने, ’अध्ययन कार्यदल भनेको अध्ययन कार्यदलै हो। कार्यदलले सचिवालयमा प्रतिवेदन ल्याउँछ र पार्टीले निर्णय गर्छ।’
एमसीसीका बारेमा केन्द्रीय समितिमा घनिभूत छलफल भएको बताउँदै अध्यक्ष प्रचण्डले भने,‘एमसीसीमा ठाडै रिजेक्ट गर्ने या ठाडै समर्थन गर्ने भन्ने भन्दा पनि यो विषय के हो भन्ने कुरा राम्रोसँग बुझ्नु प¥यो भन्ने साथीहरुको कुरा रह्यो।’
उनले एमसिसीसँग सभामुख साटेको आरोप विल्कुल भ्रम भएको जनाए। ‘त्यही निष्कर्षलाई ध्यान दिएर सचिवालयबाट छोटो समय लिएर सबैले बुझ्ने गरेर प्रतिवेदन तयार पर्ने भन्यौं’ प्रचण्डले भने।
‘एमसीसीलाई अघि बढाउन हुँदैन, ठाडै रिजेक्ट गर्नुपर्छ भन्ने मत केन्द्रीय समितिको पनि होइन’ उनले भने,‘राम्रो सँग बुझेर परिमार्जन गरेर अघि बढ्नु पर्ने हो भने त्यही अनुसार गर्नुपर्छ भन्ने गुञ्जायस भएको हुनाले कार्यदल बनाइएको हो।’