काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले नेपाल टेलिकमका आन्दोलनरत कर्मचारीहरुसँग हिसाब किताब राख्ने चेतावनी दिएका छन्। उनले राजनीति गर्ने भए पार्टी कार्यालयमा जान निर्देशन समेत दिए।
नेपाल टेलिकमको नियमावलीको विरोध गर्दै कर्मचारीहरुले आन्दोलन गर्दै आएका छन्। बुधबारको १६ औं वार्षिक उत्सव समारोहमा पनि कर्मचारीहरुले प्रदर्शन गरेका थिए। पहेंलो रंगको कागजलाई टोपी जस्तो बनाइ लगाएर समारोहमा उपस्थित भएका आन्दोलनरत कर्मचारीहरुतर्फ हेर्दै मन्त्री बास्कोटाले भने, ‘स्यान्टा क्लज जस्तो बनाएर उभिनु भएको छ। राजनीति गर्नु छ भने पार्टी कार्यालय जानुस्। संस्थाभित्र चल्दैन।’
मन्त्री बास्कोटाले टेलिकमलाई सरकारले आफ्नै सन्तानसरह माया गरेको पनि जनाए। ‘टेलिमक एक फुलवारी हो, र यसलाई गोडमेल आवश्यक पर्छ,’ मन्त्री बास्कोटाले भने। राजनीतिका लागि गरिने राजनीति जसरी भए पनि पराजित गर्ने दृढता व्यक्त गर्दै मन्त्री बास्कोटाले भने, ‘यो विनाशकारी सोच हो, यो सोच त्याग्नुपर्छ। यसको हिसाबकिताब पनि म राम्रै गर्छु। अराजकता सहिन्न।’
मन्त्री बाँस्कोटाले कम्पनीलाई माया गरेपछि सबै कर्मचारीको तलब बढ्ने उल्लेख गर्दै कामप्रति बफादार हुन पनि कर्मचारीसँग आग्रह गरे। उनले राजनीति गरिरहे टेलिकम पनि टिम्बर कर्पोरेसन र गोरखकाली टावर उद्योग जस्तै धरासायी हुने र कर्मचारीहरु थोरै सेवा सुविधा लिएर बाहिरनु पर्ने चेतावनी दिए।
आन्दोलन छाडेर सुधारमा ध्यान दिन सुझाव दिँदै मन्त्री बास्कोटाले कर्मचारीहरुलाई भने, ‘आज बेलुका सांगीतिक प्रस्तुतिसहितको पार्टी छ, त्यो पार्टीमा आउनुहोला।’