काठमाडौं– समाजवादी पार्टीका राष्ट्रियसभा सदस्य रामप्रित पासवानले चीनबाट फैलिएको कोरोनाभाइरस भन्दा पनि खतरनाक भ्रष्टाचार नामको अरको भाइरस नेपालमा फैलिएको भन्दै त्यसतर्फ चिन्ता गर्न सरकारलाई भने।
बुधबारको बैठकमा राष्ट्रियसभाको विशेष समयमा बोल्दै पासवानले भ्रष्टाचार, चर्को बजार मूल्य र बेरोजगारीको चपेटामा समाज पर्दै गएको हो। त्यसैमा आधारित भएर युवाहरूले चोक चोकमा मुक्तक गाउने गरेको जनाए।
उनले भ्रष्टाचार, बेरोजगारी र चर्को बजारमूल्य प्रति व्यंग्य गर्दै उनले बैठकमै कविता वाचन गरी सरकारलाई व्यंग्य गरे।
उनले सुनाएका कविता
‘नेपालीहरू खोज्दैछन् विकास र सम्मृद्धि
अनायास देख्दै छन् दण्डहीनता र भ्रष्टाचारमा वृद्धि
तरकारी बजारदेखि सरकारी कार्यालयसम्म भ्रष्टाचार झांगिसक्यो,
शैशव कालमै समृद्धिलाई कोरोनाभाइरसले खाइसक्यो ।
समानता स्वतन्त्र सिकिस्त छन्, लोकतन्त्र पनि थलो परिसक्यो
संघीयता, गणतन्त्र छट्पटिँदै छन् यहाँ ,
समावेशीताको पारा झरिसक्यो
आफ्नै भूमिका नागरिकता दिँदैनौ ठानेर विदेशी
के अपराध भो जन्मनु भई जनजाति र मधेशी
गास,बास ,कपास माग्दा कुरा मात्रै चिला
जनता आवास, भूमि ऐन पनि कहाँ छ र गतिला?
हिँड्ने सडक माग्दा जहाजको कुरा झिक्छौ
सत्ता टिकाउन,विदेशी डलर पाउन आफैं किन बिक्छौ?
यहाँसम्म कि सरकार,
यती सम्झौता, गोकर्ण रिसोर्ट र मेलम्ची ठेक्कामा के ठीक छौ ?
सरकार,
न्याय र समानताको नारा लगाउछौ बेसरी
समान दोषमा कोही सत्तामा त कोही जेलमा कसरी ?
ढुकुटीमा मोजमस्ती, अनुदानमा गर्छौ भोज,
जनता किन भोकै छ, गर्यौ कहिल्यै खोज ?
देश बनाउन युवा शक्ति खाडीमा फाल्दैछन् ज्यान,
के पाए युवाले सिवाय तिरस्कार र अपमान
तिमीलाई छुट कसरी? गर्न वाइड बडी र एनसेल काण्ड
पुर्खौको पौरख गुमाउँदै हँसाइ पूरै ब्रह्माण्ड
प्याजको भाउ घट्दै गर्दा कुखुराको भाउ आकासिसक्यो
के गर्यौ सरकार कुखुराको मूल्यले होलीको मुखैमा पिरोलिसक्यो।”