काठमाडौं– प्रतिनिधी सभाको मगंलबार बसेको बैठकमा सांसद र मन्त्रीविच ‘दोहोरी’ चल्यो। चिनमा रहेका नेपाली विद्यार्थीहरुलाई उद्धार गरेर नेपाल ल्याउने सन्दर्भमा सांसद प्रदिप यादवले कटाक्ष गरेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले व्यङ्ग्य गरे।
‘सरकारले ५ दिनदेखी उद्वार गरेर ल्याईने विद्यार्थीलाई राख्ने ठाँउ पाईरहेको छैन्,’ सरकारप्रति कटाक्ष गर्दै सांसद यादवले भने, ‘के हामी संसद भवन नै खाली गर्दिउ त?’ उनले थपे, ‘संसद भवन खाली गरेर विद्यार्थीलाई यहीँ राखौं। हामी बाहिर पाल टाँगेर संसद चलाऔं।’
यहि सन्दर्भ जोेड्दै उनले सरकारी लगानीको पब्लिक कम्पनीअन्तर्गत सञ्चालनमा रहेको काठमाडौंको पाँचतारे ह्यात रिजेन्सी होटल खाली गर्न कटाक्षपुर्ण सुझाव दिए। ‘३ सय ४ रोपनी जग्गा कब्जा गरेर ह्यात होटल राखेको छ। त्यो होटलले खाली गरेर विद्यार्थीलाई त्यहाँ राखौँ।’
‘ठाँउ नै नपाएर बानेश्वरको हलमा राख्ने कुराले रोग न्युनिकरण हुन्छ भन्ने हामीलाई लाग्छ र त्यही गर्दा हुने हो भने त्यस्ता ठाँउहरु त प्रयाप्त नै पाईन्छन्,’ सांसद यादवको कटाक्षमाथी व्यंग्य गर्दै मन्त्री ढकालले भने, ‘यस्तो कुराले रोगलाई संक्रमित गर्न नदिनेभन्दा पनि यो पुर्णरुपमा अभिव्यक्ति स्वतन्त्रताको उपयोगमात्र हो।’
मन्त्री ढकालले सरकारले वुहानबाट घर ल्याउने नेपाली विद्यार्थीलाई सकेसम्म बस्तीबाट टाढा राख्न खोजेको बताउँदै त्यस्तो स्थान लगभग भेटिएको बताए।