काठमाडौं– संघीय समाजवादी पार्टीका सांसद प्रदीप यादवले चीनबाट उद्दार गरी ल्याउने नेपालीलाई राख्ने ठाउँ नपाए संसद भवन खाली गर्न प्रस्ताव गरेका छन्।
प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा बोल्दै सांसद यादवले सरकारले पाँच दिनदेखि नेपाली विद्यार्थीलाई राख्ने ठाउँ नभेटेको उल्लेख गर्दै उनले भने, ‘संसद भवन खाली गरेर विद्यार्थीलाई यहीँ राखौं। हामी बाहिर पाल टाँगेर संसद चलाऔं।’
उनले संसद भवनमा नभए हायात होटल राखेको जग्गा खाली गरेर राख्न माग गरे। यादवको प्रसंगमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बानेश्वर हलमा राखेर रोग न्यूनिकरण हुने भए त्यस्तो ठाउँको अभाव नरहेको जवाफ दिए।
उनले यस्तो कुराले रोगलाई संक्रमित गर्न नदिनेभन्दा पनि अभिव्यक्ति स्वतन्त्रताको उपयोगमात्र हो भन्दै उल्टो सांसद यादवलाई व्यंग्य गरे। मन्त्री ढकालले सरकारले वुहानबाट घर ल्याउने नेपाली विद्यार्थीलाई सकेसम्म बस्तीबाट टाढा राख्न खोजेको जनाए।