काठमाडौं— नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संगठन विभाग तेस्राे पटक विस्तार भएकाे छ। तेस्राे पटक संगठन विस्तारमा १० सदस्य थपिएकाे हाे। त्यससँगै संगठन विभागमा १५ सदस्य पुगेका छन्।
केन्द्रीय समितिको बैठक समापन हुनुअगाडि आइतबार बसेको सचिवालय बैठकले विभागमा १० सदस्य थपेको हो। संगठन विभागमा थपिएका सदस्यहरुमा शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ, मातृका यादव, सत्यनारायण मण्डल, खगराज भट्ट, सुदन राई, जगप्रसाद शर्मा र रेखा शर्मा छन्।
शंकर पोखरेल प्रदेश ५ र पृथ्वीसुब्बा गण्डकी प्रदेशका मुख्यमन्त्री हुन्। विस्तारित संगठन विभागको बैठक सोमबार बसेको सदस्य अष्टलक्ष्मी शाक्यले भनि बैठकमा विभाग प्रमुख बामदेव गौतमले केन्द्रीय समितिबाट कार्ययोजना पारित भएको र अब फटाफट काम गर्नुपर्ने दायीत्व आएका जनाएका थिए। यसबाहेक बैठकले महानगर कमिटीलाई सीधै प्रदेश समिति मातहत ल्याउने गरी विधान संसोधन गर्न पार्टीलाई सुझाव दिएको छ। जिल्ला र महानगर दुवै समितिमा केन्द्रीय सदस्य इन्चार्ज थिए, कसको नेतृत्वमा रहने भन्ने समस्या महानगर रहेका जिल्लामा देखिएको थिया।े
उपाध्यक्ष र संगठन विभाग प्रमुख रहेका गौतमले पार्टी संगठनको धेरै जिम्मा पाएका छन्। यसअघि नै नेकपाको केन्द्रीय सचिवालयले संगठन विभागलाई शक्तिशाली बनाएको परिपत्र पठाएको थियो। त्यसैले नेकपामा संगठन विभागमा धेरैको चासो छ। संगठन विभागले तयार पारेको पार्टी नियमावलीमा संशोधन, संगठित सदस्यता नवीकरण, संगठनात्मक कामलाई गति दिन तत्काल गर्नुपर्ने काम र पार्टीका नेता, कार्यकर्ता तथा सदस्यले पालना गर्नुपर्ने आचारसंहिता जस्ता विषयहरूको कार्ययोजना केन्द्रीय सचिवालयबाट पारितपछि विभाग शक्तिशाली बनेको थियो ।
आवश्यकताअनुसार पार्टीद्वारा प्रत्यक्ष संचालित जनवर्गीय, सामुदायीक र अन्य संगठनहरूको अनुगमन, निरीक्षण र मूल्यांकन गरी सम्बन्धित संगठन तथा तिनका पदाधिकारीहरूलाई संगठन विभागले सुझाव दिनसक्ने पनि नेकपाले निर्णय गरेको छ। नेकपाले एकता–एकीकरणका सन्दर्भमा देखिएका समस्या समाधान गर्ने जिम्मेवारी संगठन विभागलाई दिइएको छ। नेकपाका ३२ विभाग छन्। संगठन जस्तै ती कुनै पनि विभागले पूर्णता पाएका छैनन्।
नेकपाका अनुसार एकता पूर्वको पार्टी सदस्य र संगठित सदस्य संख्या यकिन गर्न, उनीहरूको अभिलेख अद्यावधिक गर्न र नवीकरण गर्न बाँकी छ।
आइतबार सकिएको केन्द्रीय समिति बैठकले एकता–एकीकरणका क्रममा बाँकी रहेका कामहरू केही दिनको अन्तरालमा सम्पन्न गर्ने र सबै पार्टी संगठनलाई केन्द्रीकृत योजना अन्तर्गत राष्ट्रिय अभियानमा परिचालित गर्ने निर्णय गरेको छ। एकताको तात्कालीक एवं दीर्घकालीन महत्व स्थापित गर्न, राजनीतिक स्थायीत्व एवं सामाजिक–आर्थिक रुपान्तरणद्वारा राष्ट्रिय आकांक्षा कार्यान्वयन गर्न, सरकारले गरेका सकारात्मक कामहरुबारे सन्देश सम्प्रेषण गर्न र पार्टी पंक्तिमा नयाँ गति सिर्जना राष्ट्रिय अभियान चलाउने निर्णय गरिसकेको छ।
पार्टी एकता सुदृढीकरण र समृद्धिका लागि राष्ट्रिय अभियान नाम दिइएको अभियान ५ महिना चल्नेछ। फागुन १ गते सुरु भई असार मसान्तमा सम्पन्न भई ०७७ सालको साउन महिनामा अभियानको समीक्षा गर्ने नेकपाले निर्णय गरिसकेको छ।