काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता तथा सचिवालय सदस्य बामदेव गौतम अब पार्टीको उपाध्यक्ष भएका छन्। सो पार्टीको केन्द्रीय समिति बैठकले सांगठनिक र विधान संशोधन प्रस्ताव पारित गरेसँगै नेता गौतम उपाध्यक्ष बनेका हुन्।
यसअघि पार्टीको विधानमा दुई अध्यक्ष र एक महासचिवको व्यवस्था गरिएपनि उपाध्यक्षको व्यवस्था थिएन। गत साउन अन्तिम साता बसेको सचिवालय बैठकले विधान संशोधन गरेर उपाध्यक्ष पद सिर्जना गर्ने निर्णय गरेको थियो। सो प्रस्ताव स्थायी समिति बैठकले पनि पास गरेको थियो।
गौतमलाई गत असोजमै उपाध्यक्ष बनाउने प्रस्ताव केन्द्रीय सचिवालय बैठकले गरेको थियो। विधानमा संशोधन गर्नुपर्ने भएकाले स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीमा ल्याएर वैधानिक प्रक्रिया पुरा गरिएको हो।
केन्द्रीय कमिटी बैठकले सर्वसम्मत रुपमा गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको प्रचार बिभाग उपप्रमुख सूर्य थापाले जनाए। विधान संशोधनसँगै उपाध्यक्षका काम, कर्तव्य र अधिकार पनि व्यवस्थित गरिएको उनले जानकारी दिए।