काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बैठकमा अबदेखि कुनै पनि नेताको फोटो नराखिने भएको छ। आइतबार जारी केन्द्रीय समिति बैठकको अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)को फोटो राखेको भन्दै चर्को विरोध भएपछि नेकपाले यस्तो निर्णय गरेको हो।
केन्द्रीय समिति बैठकको समापन समारोहमा बोल्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबदेखि बस्ने नेकपाका बैठकमा नेताहरुको फोटो नराख्ने जानकारी दिएका हुन्। त्यस्तै उनले बैठकमा मार्क्स, एंगेल्स र लेनिनको भनाइ ‘कोट’ का रुपमा राखिने पनि जनाए।
यसअघि नेताहरु राजेन्द्र राई, जगन्नाथ खतिवडा लगायतले बैठकमा नेताहरुको फोटो राखेर राजावादी शैली देखाएको भन्दै आपत्ति जनाएका थिए। राष्ट्रिय सभा गृहमा भएको उद्घाटन कार्यक्रमका लागि टाँगिएको ब्यानरमा दुईजना अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को फोटो मनमोहन र पुष्पलालको भन्दा तलतिर राखिएको थियो।
मञ्चमै बसेका नेताहरुको फोटो ब्यानरमा पनि टाँगेर राजावादीकै अभ्यास गरेको भन्दै नेताहरुले तीव्र असन्तुष्टि जनाएका थिए। बैठकका क्रममा मञ्चमा ९ जना सचिवालय सदस्यका लागि आसनसँगै मञ्चको दायाँतर्फ एकजना अध्यक्ष ओली र बायाँतर्फ अर्का अध्यक्ष प्रचण्डको फोटो टाँसिएको थियो।