काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे सुझाव संकलन गर्न कार्यदल गठन गरेको छ। आइतबार दिउँसो बसेको नेकपा सचिवालय बैठकले वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिएको हो।
केन्द्रीय कार्यसमिति बैठकमा नेताहरुले उठाएको प्रश्नमा जवाफ दिँदै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यदल गठन गर्ने घोषणा गरेका हुन्। वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा गठित कार्यदलमा स्थायी कमिटी सदस्यहरु भीम रावल र प्रदीप ज्ञवाली सदस्य छन्।
प्रधानमन्त्रीको प्रेस सल्लाहकार तथा नेकपाको प्रचार विभाग उपप्रमुख सूर्य थापाले आइतबारको सचिवालय बैठकले एमसीसीबारे सहमति खोज्न ३ सदस्यीय समिति गठन भएको जानकारी दिए। कार्यदलका सदस्य रावलले एमसीसीबारे प्रश्न उठाउँदै आएका थिए भने परराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले संसदबाट अनुमोदन गर्नुपर्नेमा जोड दिँदै आएका छन्।
उक्त समितिलाई एमसीसीका विषयमा सहमति खोज्न १० दिनको समयसीमा तोकिएको थापाले जानकारी दिए। १० दिनको समयमा समितिले एमसीसीबारे जारी विवादको समाधानका पार्टी भित्र छलफल गर्ने र सुझाव संकलन गर्ने छ।