काठमाडौँ– सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठकमा दुवै अध्यक्ष र महासचिवले जवाफ दिएपछि आइतबार समापन हुँदैछ। चार दिनदेखि जारी बैठकको अन्तिम दिन अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलले केन्द्रीय सदस्यहरुका प्रश्नको जवाफ दिने प्रचार विभाग उपप्रमुख सूर्य थापाले बताए।
केन्द्रीय समिति बैठक अघि आजै सचिवालय बैठक बस्दैछ। सचिवालय बैठकमा केन्द्रीय समिति बैठकमा सदस्यहरुले राखेका प्रश्नको जवाफका बारेमा छलफल हुने नेताहरुले बताएका छन्। १५ समुहमा भएको छलफलमा धेरैजसो नेताहरुले सरकार र पार्टी नेतृत्वको चर्को आलोचना गरेका छन्।
यसैबीच, बैठकअघि केन्द्रीय कमिटीमा उठेका प्रश्नबारेमा छलफल गर्न अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका छन्। दुवै अध्यक्षबीच छलफलपछि समान धारणा लैजाने प्रयास भइरहेको नेकपा स्रोतले बताएको छ।
नेकपा घोषणा भएको २१ महिनापछि एजेण्डासहित बसेको नेकपाको केन्द्रीय समिति बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पमकल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेलले विभिन्न प्रतिवेदन प्रस्तुत गरेका थिए। ती प्रतिवेदनहरुमा समुहगत रुपमा छलफल भएको थियो।