काठमाडौं– गृह मन्त्रालयको छाउगोठ भत्काउने अभियानप्रति सांसद गजेन्द्रबहादुर महतले आपत्ति जनाएका छन्। शुक्रबारको प्रतिनिधि सभाको बैठकको शुन्य समयमा सांसद महतले भने, ‘हाम्रो गाउँघरतिर उखान छ, काम नपाएकी बुहारी कुकुरको पुछर कन्यौँ। अहिले हाम्रो गृहमन्त्रालयको अवस्था पनि यस्तै छ।’
उनले एउटा व्यक्तिको मृत्यु भयो भन्दैमा घर भत्काउन पाइन्छ भन्दै प्रश्न उठाए। उनले भने, ‘छाउगोठका नाममा हाम्रा घर भत्काइएका छन्। ८ जना मान्छेको होटलमा मृत्यु भएको छ। होटल भत्काउँदै हिड्ने ? हजारौँ मान्छेको बसमा मृत्यु भएको छ। बस जलाउँदै हिड्ने ? यो पनि तरिका हाे? चाहिँदो काम गर्नु पर्यो नि ?’
सांसद महतले जिल्लामा जाने नुन र चामलमा हुने भ्रष्टचारमापनि गृहमन्त्रालयको ध्यान नगएकोप्रति गुनासो गरे। ‘जिल्लामा जाने नुन र चामलमा हुने भ्रष्टचार भएको छ। उनीहरुलाई समात्नु छैन। पुल र बाटोको बेहाल छ। ठेकेदार कहाँ छ कहाँ छ। तिनीहरुलाई पक्राउ गर्नु पर्दैन?’ उनले प्रश्न मिश्रित आक्रोश पोख्दै भने, ‘विद्यालय र अस्पतालको अवस्था के छ भनेर हेर्नु पर्दैन ? हिजो गोर्खाली सेनाका नाममा हाम्रा घर भत्काइयो। आज छाउ गोठका नाममा हाम्रा घर भत्काउने? के हेरर बसेको छ गृह मन्त्रालय?