काठमाडौं– सत्तारूढ नेकपाको केन्द्रीय समिति बैठकमा अध्यक्षद्वयले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्नुपर्ने प्रस्ताव गरेका छन्। पार्टी एकताको २१ महिनापछि बुधबार काठमाडौंमा सुरु भएको बैठकमा संयुक्त राजनीतिक प्रस्ताव पेस गर्दै अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले घुमाउरो भाषामा यस्तो प्रस्ताव गरेका हुन्।
नेकपा केन्द्रीय समितिको बैठकमा प्रस्तुत गरिएका अध्यक्षद्वयद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा इण्डोप्यासिफिक रणनीति अन्तर्गत चीनलाई घेराउ गर्न अमेरिकाले नेपालमा एसीसी परियोजना लागू गर्न लागेको धेरै नेताहरूकाे निष्कर्ष छ। अधिकांश नेताहरूकाे यस्तो निष्कर्षसँगै एमसीसी संसदबाट पारित हुनेमा आशंका व्यक्त गरिएको छ।
सभामुख अग्नि प्रसाद सापकोटाले एमसीसीलाई पास गर्न हतार नगरौं, बहस हुन दिऊँ भन्ने अभिव्यक्ति दिएको भोलिपल्ट नेकपाले एमसीसीलाई खतरनाक अमेरिकी ग्राण्ड डिजाइन भएको नेताहरूकाे ठहर छ। प्रधानमन्त्री ओली एमसीसी प्रतिनिधिसभाबाट अविलम्ब पारित गर्नुपर्ने पक्षमा छन्।
पार्टीका केही नेताहरूले एमसीसी इन्डोप्यासिफिक रणनीतिकै अंग भए–नभएको प्रश्न उठाइरहेका बेला अध्यक्षद्वयले एमसीसी र इन्डो प्यासिफिक अलग रहेको देखाउन दस्तावेजमै प्रयास गरेका छन्। अमेरिकाको इन्डो प्यासिफिक रणनीतिमा उसको हिन्द महासागर वरिपरिका क्षेत्रहरूमा आफ्नो प्रभाव विस्तार गर्ने, प्रभुत्व कायम गर्ने, पहिलो आर्थिक शक्तिका रूपमा उदाउँदै गरेको चीनलाई घेरा हाल्ने र कमजोर पार्ने सैन्य रणनीतिका रूपमा अगाडि आएको उल्लेख छ।
प्रधानमन्त्री ओलीले अमेरिकाको इन्डो प्यासिफिक स्ट्राटेजी र अमेरिकाले नेपालमा गर्न खोजेको सहयोग परियोजना एमसीसी फरक रहेको पार्टी बैठकको उद्घाटन मन्तव्य दिने क्रममा बताएका थिए। उनले भने, ‘एमसीसीका विषयमा अनावश्यक विवाद भयो। यसभित्र नेपाललाई होच्याउने कुरा छैन। यो अन्य कुनै स्ट्राटेजीसँग साइनो छैन। इन्डो प्यासिफिकसँग जोडिएको भन्नु बेकारको कुरा हो, त्योसँग जोडिएको छैन।’
नेकपाको प्रतिवदेनमा चीनसँग भने नजिक हुने आशय व्यक्त गरिएको छ। प्रतिवेदनमा चीनको बीआरआई परियोजनाको बारेमा केही उल्लेख नगरी मौन समर्थन गरिएको हो। नेकपाले आफ्नो राजनीतिक प्रतिवेदनमा भारतले आफ्नो नक्सामा पारेको लिम्पियाधुरा नेपालकै भएको दाबी गर्दै भारतले मिचेको नेपाली भूभागको सम्बन्धमा समेत प्रवेदनमा स्पष्ट सम्बोधन गरिएको छ।