काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटीको जारी बैठकमा बिहीबार समूहगत छलफल सुरू भएकाे छ।छलफल राष्ट्रिय सभागृह र पार्टी केन्द्रीय कार्यालय धुम्बाराही तथा पेरिसडाँडामा हुँदैछ।
केन्द्रीय सदस्यहरुको समूहगत छलफलका लागि १५ वटा समूह बनाइएको छ। बर्णानुक्रम अनुसार २९ जना सदस्यलाई एउटा समूहमा राखेर छलफल चलाइएको नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले बताए।
एमालेले नवौं महाधिवेशनबाट केपी ओलीलाई अध्यक्ष निर्वा्चित गरेको थियो। माओवादीले हेटौंडामा सातौं महाधिवेशन गरेको थियो। अब एकताको महाधिवेशन दशौं हुन्छ कि पहिलो ? केन्द्रीय कमिटी बैठकमा पेस भएको अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथिको छलफलका लागि ९ वटा समूह बनाइएको छ। प्रत्येक समूहमा २९ जना केन्द्रीय सदस्य राखिएको छ।
राष्ट्रिय सभा गृह, धुम्बाराहीस्थित पार्टी कार्यालय र पेरिसडाडामा रहेको नेकपाको अर्को कार्यालय समूहगत छलफल हुने केन्द्रीय सदस्य दिलु पन्तले सेतोपाटीलाई जानकारी दिइन्। समूहगत छलफलमा उठेका विषयलाई टोली नेताले केन्द्रीय समितिको बैठकमा पेस गर्नेछन्। अब नेकपा २०१९ मा फर्केर चौथो महाधिवेशन गर्छ कि २०७७ मा दशौं महाधिवेशन गर्छ ? छलफलमा यो प्रश्न उठाउने तयारी केन्द्रीय सदस्यहरुको छ।
महाधिवेशन कतिऔं भन्ने विषय छलफलबाट टुंगो लाग्ने विश्वास केन्द्रीय सदस्य युवराज चौलागाईले व्यक्त गरे। अर्का केन्द्रीय सदस्य माधव ढुंगेलले केन्द्रीय कमिटी बैठकको छलफलमा यो विषय उठेको बताए।