काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रगतको अभावमा छट्पटाइरहेका बिरामीले पैसा तिरेर रगत लिनुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने बताएका छन्।
नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा आज काठमाडौँमा आयोजित १४ औंँ राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवस समारोहमा उनले भने “दाताले रगत दिइरहने तर पीडितले पैसा तिरेर मात्रै रगत लिनुपर्ने अन्तरविरोधको समाधान छिटोभन्दा छिटो हुनुपर्दछ।”
उक्त समारोहमा राष्ट्रिय समाचार समिति (रासस) का महाप्रबधक ओपेन्द्र शर्माले समाजले रक्तदान अभियान सञ्चालन गरेर समाज र राष्ट्रलाई महत्वपूर्ण योगदान पुर्याएकोमा प्रशंसा गर्दै रगतको अभावले अस्पतालको श्ययामा छटपटाएर मर्नुपर्ने अवस्थाको अन्त्य गर्न जरुरी छ। यस्ता अभियान सञ्चालन गर्ने सङ्घ संस्थालाई सरकारले सहयोग गर्नुपर्नेमा उनले जोड दिए। “यो अभियान राज्यलाई नै रगतको नाता जोड्ने अभियान हो, तर रगत लिएर पोको पार्ने मात्रै नगरी सही सदुपयोग हुनु अर्काे महत्वपूर्ण कुरा हो”, महाप्रबन्धक शर्माले भने।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले जीवनको आधार नै रगत हो भन्दै रगतलाई सर्वसुलभ र सहज कसरी बनाउन सकिन्छ भन्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिएका हुन्। नेपाल रेडक्रम सोसाइटीका केन्द्रीय महामन्त्री देवरत्न धाख्वाले कुनै पनि ठाउँमा रगत उत्पादन गर्ने कुरा नभइ मान्छेले नै मान्छेलाई दिनुपर्ने हुँदा रगत दानका लागि सर्वसाधारणमा चेतना र प्रोत्साहन जरुरी रहेको बताए।
थालेसिमिया समाजका अध्यक्ष दुर्गा पाठकले रगत र थालेसिमियाका बिरामीको सम्बन्ध नङ र मासुको जस्तै रहेको उल्लेख गरेका छन्। सो अवसरमा अध्यक्ष दाहालले १० जना रक्तदातालाई कदरपत्रद्वारा सम्मान गर्नुका साथै समाजले प्रकाशन गरेको ‘हाम्रो रगत पुस्तक’को लोकार्पण पनि गरे।