काठमाडौं – नेकपाको केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले एमसिसीबारे ब्रिफिङ गरेका छन्। सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले एमसीसीबारे धेरै विवाद गर्न आवश्यक नभएको जनाएका छन्।
ओलीले भने एमसिसीअन्तर्गत नेपालले करिब ५५ अर्ब रुपैयाँ (५ सय मिलियन डलर) अनुदान पाउने छ। यसमा नेपालले पनि १ सय ३० मिलियन डलर खर्च गर्नुपर्ने प्रावधान रहेको उनले बताए। यो कम्प्याक्ट एसियाका साथै अफ्रिका र दक्षिण अमेरिकाका गरी ४९ देशसँग भएको भन्दै उनले भने, ‘यसलाई इण्डो प्यासिफिकसँग जोड्नु बेकार छ।’
कसको हिडन इन्ट्रेस्ट के छ भनेर खोज्दै जाने हो भने नेपालले अन्तर्राष्ट्रिय सम्बन्ध नै राख्न नसक्ने उनले बताए। यो सम्झौता छिटो संसदबाट अनुमोदन गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो स्वार्वभौमसत्तालाई यस सहमतिले कुनै प्रतिकुल असर पार्दैन। यो कार्यक्रम अस्वीकार गर्न नेपालले पनि सक्ने र अमेरिकाले पनि रद्द गर्न सक्ने व्यवस्था रहेको भन्दै उनले एमसिसी नेपालका लागि एउटा अवसर भएको उल्लेख गरे।
ओलीले भने ‘सुशासन, स्वतन्त्रता, प्रजातान्त्रिक अभ्यास गरेका आधारमा विश्वका मुलुकहरु एमसिसीका लागि छनौट हुने हो’। नेपाल स्वतन्त्रता, मानवअधिकार, सुशासन र लोकतान्त्रिक अभ्यासमा रहेकाले एमसिसीमा छनौट भएको उनले जनाए। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वमा अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले हस्ताक्षर गरेका हुन्।