काठमाडौं – आफूले संसदमा कोरोना भाइरसतर्फ संकेत गर्दै धक्काको कुरा उठाएको प्रधानमन्त्री केपी शर्मा ओलीले प्रष्ट पारेका छन्।
मंगलबार संसद बैठकलाई सम्बोधन गर्दै उनले २०२० को सुरुमा नै प्राकृतिक रुपमा धक्काको संकेत देखिएको बताएका थिए। लगत्तै बोलेका कांग्रेस सभापति शेरबहादुर देउवाले कसले धक्का दिँदैछ भन्दै प्रश्न गरेका थिए। देउवाले कस्ताे धक्का, कसले दिने धक्का भन्दै प्रष्ट पार्न भनेका थिए।
बुधबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले धक्का भनेर आफूले कोराेना भाइरसतिर संकेत गर्न खोजेको जनाएका छन्। ‘कहाँको धक्का भन्ने कुरा भयो,’ प्रधानमन्त्री ओलीले भने, ‘कोरोना भाइरसको कुरा गरेको थिएँ। त्यसलाई पनि कसले कसरी बुझ्यो बेग्लै कुरा हो।’