काठमाडौं – प्रतिनिधिसभाबाट आइतबार सर्वसम्मतले सभामुख निर्वाचित भएका अग्नि सापकोटाले सपथ ग्रहण गरेका छन्। राष्ट्रपति निवास शितल निवासमा सोमबार बिहान आयोजित विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले सभामुख सापकोटालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएकी हुन् ।
सपथ ग्रहण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा, उपराष्ट्रपति नन्द बहादुर पुन, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीहरू, नेकपा नेताहरूकाे उपस्थिति थियाे।
सभामुख निर्वाचित भएपछि संसद भवनबाट बाहिरिने क्रममा सापकोटाले आफूले लोकतन्त्रको मूल्य, मान्यता र आदर्श कायम राख्ने बताए। प्रतिनिधिसभाको आइतबार बसेको बैठकले सापकोटालाई निर्विरोध रुपमा सभामुख निर्वाचित भएको घोषणा गरेको थियो ।योसँगै अब प्रतिनिधिसभा सञ्चालन गर्न बाटो खुलेको छ ।