काठमाडौं – प्रतिनिधि सभाको सभामुख निर्वा्चित हुने प्रक्रियामा रहेका अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटका लागि आइतबार तोकिएको पेशी हेर्न नमिल्ने भएको छ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को उम्मेदवारका रुपमा आज (आइतबार) बस्ने प्रतिनिधि सभाको बैठकबाट सभामुख चयन हुने प्रक्रियामा रहेका सापकोटालाई सभामुख चयन नगर्ने गरी आदेश जारी गर्न माग गर्दै शुक्रबार दायर भएको रिटको सुनुवाईका लागि आइतबार सर्वोच्च अदालतका न्यायाधीश हरि प्रसाद फुयालको (६ नम्बर) इजलाशमा पेशी तोकिएको थियो।
फुयाल अधिवक्ताको रुपमा रहँदा सापकोटा विरुद्ध नै परेको मुद्दाको पक्ष (सापकोटाको विपक्ष)मा बहस गरेका कारण उनले उक्त मुद्दा हेर्न नमिल्ने भएको छ। न्यायाधीश फुयालले हेर्न नमिल्ने भएसँगै सापकोटाविरुद्ध दायर रिटमाथि आइतबार हुने सुनुवाई स्थगित भएको छ। सर्वोच्च अदालत स्रोतका अनुसार उक्त रिटमाथिको सुनुवाईका लागि सोमबार अर्को पेशी तोकिने छ।
संघीय संसद सचिवालयद्वार जारी सभामुख निर्वाचन प्रक्रियाअन्तर्गत सापकोटा सम्भवतः आइतबार नै सभामुखमा निर्वा्चित भएको घोषणा हुँदैछ। प्रतिनिधि सभाको सभामुखका लागि नेकपाबाट सापकोटाको एकल उम्मेदवार परेको छ।