काठमाडौं– प्रतिनिधिसभाले आज (आइतबार) नयाँ सभामुख पाउँदैछ। संघीय संसद् सचिवालयका अनुसार, सभामुख चयन प्रक्रिया टुंग्याउनका लागि आइतबार दिउँसो ३ बजे बैठक आह्वान गरिएको छ।
प्रतिनिधिसभा गत असोजदेखि सभामुखविहीन बनिरहेको थियो। संसद् सचिवालयकी महिला कर्मचारीमाथि यौन दुव्र्यवहारको आरोप लागे लगत्तै कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएपछि प्रतिनिधिसभा सभामुखविहीन भएकाे हो।
सभामसखका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट अग्निप्रसाद सापकोटाको मात्रै उम्मेदवारी परेको छ। यसकारण उनी निर्विरोध सभामुखमा निर्वाचित हुने निश्चित छ। ज्येष्ठ सदस्यको हैसियतमा महन्थ ठाकुरले बैठक सञ्चालन गर्दै सापकोटाका प्रस्तावक र समर्थकलाई बोल्न समय दिनेछन्।
प्रस्तावक र समर्थकले आफ्ना भनाइ राखेपछि ठाकुरले एकल उम्मेदवारी परेकाले सापकोटा सभामुखमा निर्वाचित भएको घोषणा गर्नेछन्। नयाँ सभामुख पाएसँगै प्रतिनिधि सभाको अर्को बैठक बस्दैछ। दोस्रो बैठक नवनिर्वाचित सभामुखले सञ्चालन गर्ने बताइएको छ।