काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले नेपालको कम्युनिष्ट शासन प्रणाली दुनियाँको कुनै किताबमा फेला नपर्ने खालको भएको जनाएका छन्।
पार्टी कार्यालय धुम्बाराहीमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले नेपालको कम्युनिष्ट क्रान्ति पुरानो पुँजीवादी क्रान्ति र नवजनवादी क्रान्तिभन्दा भिन्न प्रकृतिको भएको जनाए। उनले भने नेपालमा कम्युनिष्ट पार्टीको नेतृत्व मुख्य रूपमा स्थापित गर्दै पुँजीपतिलाई पनि साथ लिएर सामन्तवादमाथि विजय हासिल गरेको हुनाले यसलाई समाजवाद उन्मुख जनताको जनवादको रूपमा समाजवादको आधार तयार पार्ने एउटा राजनीतिक प्रक्रियाको रूपमा लिनुपर्ने छ।
उनले भने, ‘हामीले नेपालमा जे अनुभव गर्यौ, जे हासिल गर्यौ र हामी अब जसरी समाजवादको निर्माणको दिशामा अगाडि बढ्दैछौं। त्यो दुनियाँको कुनै किताबमा भेटिने खालको छैन। हामीले आफैंले आफ्नो जीवनमा संघर्ष गरेर बलिदान गरेर, मेहेनत गरेर, त्याग गरेर हासिल गरेका छौं र विश्वभरिका अनुभवहरूको अध्ययन गरेर, हामीले नेपालमा जे प्रयोग गरेका छौं यही विषयलाई सबै कमरेडले गम्भीरतापूर्वक विचार गर्नुहोला।’