काठमाडौं– साढे दुई महिनादेखि चलिरहेको नेपाली कांग्रेसको अन्तरिक विवाद लगभग मिलेकाे छ। शुक्रबार पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलासहितका नेताहरुबीच बूढानीलकण्ठमा झण्डै सात घन्टा लामो वार्ता भएको थियो।
वार्तामा १४ औं महाधिवेशन २०७७ फागुन ७ मा नै हुने सहमति भएकाे छ। उपसभापति विमलेन्द्र निधिले वार्तामा महाधिवेशन कार्यतालिकासहित विवादित विषयहरमा सहमति जुटेकाे बताएका छन्। उनले भने, ‘सहमतिअनुसार पर्सि १ बजे बैठक बोलाइएको छ र यो बैठकमा सबैले भाग लिनेछन्।’
यसअघि २६ मंसिरमा बोलाइएको बैठक पौडेल र सिटौला समूहले बहिस्कार गरेको थियो। केही दिन बैठक स्थगित गरेर वार्ता गरेको संस्थापन पक्षले पुस १० मा बहुमतबाटै केन्द्रीय कार्यसमितिको म्याद एक वर्ष थप्ने, महाधिवेशनको कार्यकातालिका बनाउनेसहितका निर्णयहरु गरेको थियो।
यसबाट थप चिढिएको पौडेल र सिटौला समूहले बहुमतको निर्णय कुनै हालतमा नमान्ने बताएको थियो, तर कृष्ण सिटौलाको पहलमा भएको वार्तामा सहमति जुटेको छ। उपसभापति निधिका अनुसार अब १४ औं महाधिवेशन पूर्व्निर्धा्रित मिति २०७७ फागुन ७–१० मै हुनेछ, तर त्यसको कार्यतालिका र कार्य्विधि भने संशोधन हुनेछ। शीर्ष नेताहरुबीच क्रियाशील सदस्यता छानविन गर्ने सहमति पनि भएको छ। उपसभापति निधिको भनाइ ‘यो समितिलाई १३ औं महाधिवेशनका बेला नरहरि आचार्यको नेतृत्वमा बनेको समितिकै टीओआर दिने छ।
कांग्रेस शीर्ष नेताहरुबीच भ्रातृ संगठन नेपाल विद्यार्थी संघको १२ औं महाधिवेशन ६ महिनाभित्र गर्ने गरी तदर्थ समिति गठन गर्ने सहमति भएको छ। साथै नैनसिंह महरको नेतृत्वको कार्यसमितिको म्याद सकिएको दिनसम्म ३२ वर्ष ननाघेकाहरुले आगामी महाधिवेशनमा भाग लिन पाउने पनि सहमति भएको छ।