काठमाडौं– सुशील प्याकुरेलले दिएको राजीनामा राष्ट्रपति भण्डारीले शुक्रबार (आज) स्वीकृत गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले बताएका छन्।
प्याकुरेलले संविधानले परिकल्पना गरेको लोकतान्त्रिक मूल्य, मान्यता र कानूनी सर्वोच्चताको अक्षरशः कार्यान्वयनका लागि शासकीय मामिलासम्बद्ध औपचारिकताको परिधीभन्दा बाहिर अझ बढी सक्रियतापूर्वक सहभागिता जनाउनुपर्ने अनुभूत गर्दै राष्ट्रपतिको विज्ञ सल्लाहकारको पदबाट राजीनामा दिएको घोषणा गरेका थिए।
उनले संवैधानिक अंगहरूमा सुशासनका मूलभूत मान्यतालाई आत्मसात गर्दै उच्च लोकतान्त्रिक मूल्य, मान्यता र नैतिकताको जर्गेना गर्न सजग हुनुपर्ने पनि बताएका छन्।
उनले राजीनामामा भनेका छन्, ‘हामीले ठुलो संघर्षद्वारा स्थापित गरेको यस राजनीतिक प्रणालीभित्र मानव अधिकार र सामाजिक न्यायको निःशर्त र पूर्ण सम्मान गर्ने राष्ट्रका रुपमा स्थापित गर्दै अन्तर्रा्िष्ट्रय जगतमा समेत नेपालले आफ्नो छवि अझ उज्यालो बनाउनुपर्दछ। यसका लागि सबैभन्दा बढी योगदान सरकारको नेतृत्व गरिरहेको नेकपाले गर्न सक्छ।’