काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा विगत दुई महिना यता संस्थापन र इतर पक्षबीच विवाद चर्किएको छ।पार्टीभित्रकाे आन्तरिक विवादका लागि समाधानका लागि शीर्ष नेताहरू छलफलमा जुटेका छन्।
पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा शुरु भएको वार्ताले पार्टीमा देखिएको विवाद समाधानका गर्ने बताइएकाे छ। विवाद समाधानका लागि बुधवार शीर्ष नेताहरु देउवा निवासमा छलफलमा जुटेका थिए। वरिष्ठ नेता रामचन्द्र पौडेल, अर्का नेता कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, प्रकाशमान सिंह लगायतका नेताहरुबीच भएको छलफल सकारात्मक रहेको र शुक्रबार (आज) को बैठकबाट विवादित विषय टुंगाे लाग्ने विश्वास व्यक्त गरिएकाे छ।
संस्थापन पक्षमात्र सहभागी भएको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको समय र कार्यतालिका, विधानका धारहरु निलम्बन, विभागको संख्या थप, भ्रातृ संगठनहरुबारे एकलाैटीरूपमा निर्णय गरेकाे भन्दै विवाद उत्कर्षमा पुगेकाे थियाे। उक्त बैठकमा सभापति शेरबहादुर देउवाले २०७७ फागुनका लागि तय भएको महाधिवेशनको मिति बाहेकमा आफू कुराकानी गर्न र समस्या समाधानका लागि पछि हट्न सक्ने संकेत गरेका थिए।
उनले असन्तुष्ट पक्ष हरेक विषयमा स्पष्ट नभएको भन्दै पहिलो स्पष्ट भएर आउन समेत आग्रह गरेका थिए। बूढानिलकण्ठ बैठकपछि बिहीबार(हिजो) महामन्त्री डा शशांक कोइरालाको निवासमा बसेको संस्थापन इतरका नेताहरुको बैठकले संस्थापन पक्षसँग १४ औं महाधिवेशनको सुनिश्चितता, महाधिवेशन स्वच्छ र निष्पक्ष हुने वातावरण हुनुपर्ने लगायतका विषयमा अडान लिने निर्णय गरेको थियो।