काठमाडौं– इलेक्ट्रीक स्कुटरको मोडल ‘एसडी १’ नेपाली बजारमा एसेम्बल गरिएको क्लासिक स्कुटर हो। इलेक्ट्रीक स्कुटर मियामाका लागि नेपालको आधिकारीक वितरक तथा एसेम्बल गर्ने कम्पनी मियामा मोटर्स प्रालिले नेपाली बजारमा इलेक्ट्रीक स्कुटर बिक्री गर्दै आएको छ।
कम्पनीले अहिले जेवाइ १, एलवाइ १, वाइवाइजेड, सिजेवाई १, टिएन सिक्स र एसडी १ गरि ६ मोडलका इलेक्ट्रीक स्कुटर नेपाली बजारमा एसेम्बल गरेर बिक्री वितरण गरिरहेकोे छ। यी मोडल मध्ये एसडी १ कम्पनीको क्लासिक डिजाइनमा तयार भएको इलेक्ट्रीक स्कुटर हो। उक्त स्कुटरलाई कम्पनीले १ लाख ४९ हजार रुपैयाँ मूल्य निर्धारण गरेर बिक्री वितरण गरिरहेको छ।
यसमा दिइएको हाइड्रोलिक एयर सस्पेन्सनले स्कुटरलाई निकै आरामदायी बनाएको कम्पनीले दाबी गरेको छ भने, एक पटकको फुलचार्जमा यसले १०० किलोमिटर माइलेज दिने दाबी गरिएको छ।
यो मोटरसाइकलको उच्च गति ४५ किलोमिटर प्रतिघन्टा रहेको छ । करिब ७० किलोग्राम कुल तौल रहेको यो स्कुटर कम्पनीले काठमाडौंको ज्ञानेश्वरमा एसेम्बल गरिरहेको छ ।
लिथियम आयोन र लिड एसिड दुबै ब्याट्री अप्सनमा उपलब्ध यो स्कुटरमा ७२ भोल्ट क्षमताको व्याट्री दिइएको छ। यसमा रहेको लिड एसीड व्याट्री फुलचार्ज गर्न ६ घण्टासम्म लाग्छ भने लिथिएम आयोन व्याट्री चारघन्टामा फुलचार्ज हुने छ। अगाडि चक्कामा डिस्क र पछाडि ड्रम ब्रेक दिइएको यो स्कुटर निकै सुरक्षीत रहेको कम्पनीले जनाएको छ।
पूर्ण डिजिटल स्पीडोमिटर रहेको यो स्कुटर चोरी हुने सम्भावना अत्यन्त न्यून रहेको छ। यसमा दिइएको रिमोट युक्त साँचोको प्रयोग गरेर यसको पछाडिको चक्का लक गर्न सकिने छ।
बजारमा लिड एसिड व्याट्रीयुक्त स्कुटरको मूल्य १ लाख ४९ हजार रुपैयाँ रहेको छ भने लिथिएम आयोन व्याट्री लगाइएको स्कुटरको मूल्य १ लाख ८७ हजार रुपैयाँ रहेको छ।