पूर्वाधारको विकास भएर पनि प्रयोगमा नआएपछि पर्साको वीरगञ्जस्थित बसपार्क अलपत्र परेको छ। १८ करोड रुपैयाँको लागतमा निर्माण गरिएको वीरगञ्जको टर्मिनल बसपार्क प्रयोगमा आउन नसकेको हो।
जर्मन सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको टर्मिनल बसपार्क उद्देश्य अनुरुप सञ्चालन हुन सकेको छैन। वीरगञ्ज माहानगरपालिका वडा नम्बर–१६ स्थित भानुचोक नजिकै नयाँ बसपार्क निर्माण भएको हो।
वीरमल श्रीवास्तव वीरगञ्जको प्रमुख हुँदा प्रतिकठ्ठा १० हजार रुपैयाँका दरले ५ विघा ५ कठ्ठा जमीन खरिद गरेर नयाँ बसपार्क निर्माण गरिएको हो। त्यही जग्गामा करिब १८ करोड रुपैयाँको लागतमा टर्मिनल बसपार्क निर्माण गरिए पनि सर्वसाधारणले प्रयोग गर्न पाएका छैनन्।
बसपार्क टर्मिनलको तीन तल्ले भवनमा ५५ वटा सटर कोठा, १ वटा वर्कशप, शौचालय र ब्यूटीपार्लर, एटिएम मेसिन, बुकिङ काउन्टर, रेष्टुरेन्ट, लगेज रुम लगायतका सुबिधा उपलब्ध गराउने व्यवस्था गरिएको छ।
बसपार्कमा क्षेत्रभित्र १ सय २४ वटा बस, टाटासुमो, मोटरसाइकल, टांगा रिक्सा पार्किङ गर्ने व्यवस्था रहेको छ। सुविधा सम्पन्न बसपार्क टर्मिनल बन्नुभन्दा पहिला व्यवसायीहरू उत्साहित भएका थिए।
व्यवसायीहरूले बसपार्क अव्यवस्थित हुँदा समस्या भएको बताउने गरेका थिए। बसपार्कमा खाल्डाखुल्डी हुँदा बसका पट्टाहरू भाच्चिने, सामान चोरी हुने जस्ता समस्या थिए। टर्मिनल बनेपछि ती सबै समस्याबाट मुक्ति मिल्ने आशा व्यवसायी सुमन श्रेष्ठले व्यक्त गरे। तर, अहिले व्यवसायीहरूले बसर्पाकभित्र यातायातका साधन लान चाहँदैनन्।
वीरगञ्ज बसपार्कमा सबै यात्रुवाहक सवारीसाधन राखेर सञ्चालन गर्ने सहमतिलाई यातायात व्यवसायीले पालना गरेका छैनन्। यसअघि पनि जिल्ला ट्राफिक प्रहरी कार्यालय, व्यवस्थित वीरगञ्ज अभियानअन्तर्गत यातायात व्यवसायीहरूसँग भएको छलफलमा तीन दिनभित्र बसपार्कबाहिर हुने सबैखाले यातायात गतिविधि बन्द गरेर बसपार्कभित्रबाट सञ्चालन गर्ने सहमति भएको थियो। तर, त्यो सहमति पालना भएको छैन।
वीरगञ्ज बसपार्क निर्माणको क्रममा रहँदा टाटासुमो, माइक्रोसमेत यात्रुवाहक बस, बसपार्क बाहिरबाट सञ्चालन हुँदै आएको थियो। अहिले पनि भानुचोकमा त्यही दृश्य देखिन्छ। बसपार्क बाहिरबाट सञ्चालन हुँदा ट्राफिक व्यवस्थापनमा समस्या देखिएको छ।
भानुचोकमा सडकमा यात्रुबाहक बस पार्किङ गरेर यात्रु तान्ने प्रवृति बढदै गएको छ। एक परिवारका एक बालक सहित तीन जना काठमाडौं जानका लागि भानुचोक पुगेका थिए। बसका दलालहरूको कोपभाजनको शिकार भइहाले। पतिलाई एउटा बसवालाले, छोरालाई अर्को बसवालाले र श्रीमतीले बोकेको झोलालाई अर्को बसवालाले तानिरहेका थिए।
यस्तो दृश्य भानुचोकको विशेषता भएको छ। यातायात व्यवस्थापन लागि भानुचोकमा रहेको ट्राफिक प्रहरी र नेपाल प्रहरीका जवान यस्तो दृश्य देखेर मन्द मुस्कान मात्र छर्ने काम गर्छन्।
भानुचोकदेखि बसपार्क प्रवेश गर्ने ठाउँसम्म १ सयको हाराहारीमा दलालहरू बस्ने गर्छन्, जसले यात्रुलाई बसर्पाकभित्र गएर टिकट किन्न दिँदैनन्। टर्मिनलमा गएर सुरक्षित र भरपर्दो सेवा लिन दिँदैनन्। यात्रुको सुरक्षा र सुविधाका लागि ट्राफिक प्रहरी बोल्दैनन्।
बसर्पाकमा सबै यात्रुवाहक सवारीसाधनलाई बसपार्कबाट सञ्चालन गराउन खोज्ने ट्राफिक प्रहरीका त्यहाँ खटिएका कर्मचारीलाई सरुवा गर्ने गरिएको छ। नेपाल प्रहरीको बसपार्कभित्रै प्रहरी चौकी छ।
प्रहरी नायव निरीक्षकको कमाण्डमा प्रहरी खटिएको छ। तर, प्रहरीले यात्रुहरूले भोग्नु परेको समस्याका बारेमा केही चासो राख्दैन। ट्राफिक प्रहरी र नेपाल प्रहरीले टर्मिनल बसपार्क सञ्चालनमा किन सहयोग नगरेको होला भन्ने प्रश्न उठेको छ।
ट्राफिक प्रहरीकै अगुवाईमा गत जेठ २ गते सबैखाले यात्रुवाहक सवारीसाधन बसपार्कभित्रबाट सञ्चालन गर्ने सहमति बनाइएको थियो।
सहमति भएको केही दिन बस पार्कभित्रबाट यात्रुवाहक बस सञ्चालन भएपनि अहिले पुरानै अवस्था बनेको छ। बाहिरबाट टिकट काट्ने, बाहिरबाट यात्रु राख्ने कार्यले पुनः सो स्थानमा ट्राफिक समस्या भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षकले बसपार्कको समस्याको बिषयमा पनि ध्यान दिने बताए। आफू भर्खर आएकाले केही कुराहरु बुझ्दै रहेको र बसपार्कको समस्याको विषयमा ध्यान उनले बताएका छन्।