चितवन– प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले तीन तहका सरकारबीच सहकार्य हुन नसकेको बताएका छन्।
आइतवार जिल्ला समन्वय समिति महासङ्घ प्रदेश नं ३ को सौराहामा दुई दिने प्रदेश भेलामा उनले तीन तहका सरकारबीचको समन्वयको कमीका कारण देशमा सङ्क्रमणकालको अन्त्य हुन नसकेको बताए।
उनको अनुसार तीन तहका सरकारबीच समन्वय हुन नसक्दा समृद्धि प्राप्तिमा कठिनाइ हुन्छ। अधिकार प्राप्तिका लागि धेरै ऐन कानून बन्न बाँकी रहेको र केही बनिरहेको उनले सुनाए। भेलामा ११ बुँदे चितवन घोषणापत्र जारी गरिएको छ। घोषणापत्रमा समितिको अधिकार क्षेत्रको बारेमा बोल्दै ऐन, नियम बनाउन सङ्घ तथा प्रदेश सरकारसँग माग गरिएको छ।
जिल्लास्थित सङ्घ, प्रदेश र स्थानीय तहका कार्यालयलाई अनुगमन, समन्वय, निर्देशन आदि कार्यका लागि स्पष्ट कानूनी व्यवस्था हुन घोषणापत्रमा माग गरिएको छ। भेलामा जिल्ला समन्वय समिति महासङ्घ प्रदेश नं ३ का अध्यक्ष तथा जिसस मकवानपुर प्रमुख रघुनाथ खुलालले महासङ्घका तर्फबाट प्रतिवेदन पेश गरेका थिए।