काठमाडौं– प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले राष्ट्रिय समाचार समिति (रासस) समस्त नेपालीको साझा सम्पत्ति भएको बताउँदै यसको भौतिक उन्नयनमा सक्दो सहयोग गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।
राससका महाप्रबन्धक ओपेन्द्र शर्मालगायत व्यवस्थापनका उच्च पदाधिकारीसँग आज रासस केन्द्रीय कार्यालयमा भएको भेटमा उनले संघीय संरचनाअन्तर्गतको राससलाई प्रदेश सरकारका तर्फबाट सोझै आर्थिक सहयोग गर्न नसकिने कानूनी प्रावधान रहेको बताएका छन्।
उनले भने, ‘कानूनी व्यवधानलाई विधिसम्मत ढङ्गले मिलाएर राससलाई प्रदेशबाट कसरी सहयोग गर्न सकिन्छ त्यसमा हामी सकारात्मक छौँ।’ महाप्रबन्धक शर्माले राससले दरबन्दी र अर्थाभावका कारण प्रदेशस्तरीय बुलेटिन प्रकाशन गर्न नसकेको जानकारी दिँदै आवश्यक स्रोतसाधनको व्यवस्था गर्न मन्त्री जम्मकट्टेलसमक्ष आग्रह गरेका छन्। रासस