कास्की– नेपाल र भारतबीचको सीमा विवाद अहिले सतहमा छ। भारतले आफ्नो राजनितिक नक्सामा नेपालको भूभाग समेटेपछि नेपालमा त्यसको चर्को विरोध भइरहेको छ।
यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरेर भारतले नक्सा छापेको आरोप लगाएका छन्। सरकारले सीमा मिचिएकोबारे अध्ययन गर्न पनि समिति बनाउने निर्णय गरेपनि ओलीले राष्ट्रवादका नाममा जनतालाई उल्लु बनाइरहेको टिप्पणी गरेका छन्।
पोखरामा शनिबार भएको चुनावी सभामा सभापति देउवाले ओलीको राष्ट्रवाद कालापानीमा घुँडा टेकेको बताउँदै ओलीको राष्ट्रवाद कालापानीमा लम्पसारवाद भएको बताए। भारतले प्रधानमन्त्री ओलीसँग सल्लाह गरेर नक्सा छापेको आरोप देउवाले लगाए।
लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको रहेको र सन्धीमै महाकाली पूर्व नेपाल उल्लेख छ भन्दै उनले महाकालीको पानी पनि आधा हक लाग्ने बताए। ओली सरकारले जनताका आँखामा छारो हाल्ने काम गरिराखेको देउवाको आरोप छ।
कार्यक्रममा देउवाले ओली सरकारले भ्रष्टाचार बढाएको पनि बताए। कास्की निर्वाचन क्षेत्र नम्बर २ मा मंसिर १४ गते हुने चुनावबाट सरकारका पक्षमा जनता छैनन् भन्ने सन्देश दिन पनि उनले मतदातालाई आग्रह गरेका छन्।