काठमाडौं– शनिबार समाजवादी पार्टी नेपालको पदाधिकारी बैठक बस्दैछ। अपरान्ह ४ बजे बस्ने बैठकमा सरकारले गरेको मन्त्री हेरफेरको विषय तथा सरकारमा बस्ने वा नबस्नेबारे पनि छलफल हुने बताइएको छ।
बालकुमारीस्थित पार्टी कार्यालयमा बैठकमा नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले हालै गरेको मन्त्री हेरफेरको विषयमा छलफल हुने बताइएको छ। समाजवादी पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले सरकारले गरेको मन्त्री हेरफेरका साथै पार्टीको अन्य एजेण्डामा छलफलका लागि बैठक बोलाइएको जानकारी दिएका छन्।
सरकारबाट बाहिरिनुपर्ने दवाव पार्टीमा परिरहेको र आज बस्ने बैठकले सरकारमा बस्ने नबस्ने विषयमा छलफल हुने बताइएको छ। यद्यपी पार्टीका कतिपय नेताले सरकार नछाड्ने बरु सरकारमा रहेर सविधान संशोधन लगायतका माग पूरा गराउने भन्दै आएको छ। यो मन्त्रालय हेरफेर पनि पार्टीका अध्यक्ष उपेन्द्र यादवकै सल्लाहमा भएको कतिपय नेताहरुले भन्दै आएका छन्।
अध्यक्ष उपेन्द्र यादवले शुरुदेखि नै कानुन मन्त्रालय माग गरेको र सोही अनुसार अहिले स्वास्थ्य मन्त्रालयबाट कानुन मन्त्रालयमा सारेको बताइएको छ। समाजवादी पार्टीका केन्द्रीय सदस्य डा.शिवजी यादवले पार्टी तत्काल सरकारबाट नहट्ने बताए। उनले संविधान संशोधन लगायत कानुनका अन्य काम गर्न कानुन मन्त्रालयबाट सजिलो हुने भनेर नै त्यो मन्त्रालय लिएको बताए।
समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई पक्षका नेताहरु सरकार छाड्नुपर्ने दवाव दिइरहेका छन्। उपप्रमुख पाण्डेले सरकारमा बसेर संविधान संशोधन गराउन नसकिने भन्दै सडक संघर्षबाट दवाव दिएर संशोधन लगायतका काम गराउन सकिने बताएका छन्।