बनेपा– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको भविष्य उज्ज्वल रहेको बताउँदै नेपाललाई छिट्टै विकसित राष्ट्र बनाउने बताएका छन्। नेपालीहरुको साथबाट मात्र समृद्ध मुलुक बन्न सक्ने उनले बताए।
काठमाडौँ विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले धुलिखेलमा केयूको २५ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै नेपालसँग सफल वर्तमान छ, भविष्य उज्यालो रहेको जानकारी दिए। नेपाल उर्वर देश भएकाले सबैखाले उत्पादन गर्न सक्ने क्षमता रहेको भन्दै उनले देश विकासका लागि ढुक्क भएर अघि बढ्न सबैलाई आग्रह गरे।
ओलीले सरकार गुणस्तरीय शिक्षा प्रदान गर्ने बाटामा जाँदै गरेको बताउँदै केयूमा आज दीक्षितमध्ये ५४ प्रतिशत छात्रा रहेकामा खुशी व्यक्त गरे। उनले नयाँ पुस्तालाई उत्साह र आत्मविश्वासका साथ अगाडि बढ्न पनि आह्वान गरे। कार्यक्रममा एमबीबीएस स्नातक तहमा सबैभन्दा बढी ७९ दशमलव ६७ प्रतिशत अङ्क ल्याउने लुम्बिनी मेडिकल कलेज पाल्पाका विवेक पौड्याललाई भाइस चान्सलर स्वर्णपदक प्रदान गरिएको थियो।
केयूका चिकित्सा विधाका स्नातक र स्नातकोत्तर तहका एक हजार ६ सय ४ दीक्षित भएका छन्। दीक्षित हुनेमा एमसिएच, डिएम, एमडी, एमएस, एमएस्सी, र एमडीएसका एक हजार ९८, बिडिएसका २ सय १८, बीएस्सी इन नर्सिङका १ सय १६ र बीपीटीका २४ विद्यार्थी छन् । भारत, भुटान, श्रीलङ्का, मालदिभ्स, अमेरिका र बेल्जियमका २ सय ४६ विद्यार्थीसमेत आज दीक्षित भएका छन्।