काठमाडौं_ बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन सकिएसँगै केही मन्त्रीलाई हटाइएका छन् भने केहीलाई नयाँ नियुक्त गरेका छन्। कसैको भने जिम्मेवारी पद नै हेरफेर भएका छन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार नयाँ मन्त्रीहरुको नाम राष्ट्रपति कार्यालयमा पठाइएको छ तर सूची भने औपचारिक रुपमा सार्वजनिक नगरिएको बताइएको छ।
फेरियो उपेन्द्र यादवको मन्त्रालय
नेकपा स्रोतकाअनुसार प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको मन्त्रालय खोसेर नेकपा नेता भानुभक्त ढकाललाई दिएका छन्। कानुनमन्त्री ढकाल स्वास्थ्यमन्त्री बन्ने भएका छन् भने उपेन्द्र यादव कानुनमन्त्री हुने भएका छन्।
हालै सम्पन्न समाजवादी पार्टीर्को बैठकले तत्काल सरकार नछाड्ने निर्णय गरे लगत्तै प्रधानमन्त्रीले यादवको जिम्मेवारी हेरफेर गरेका हुन्।
खोसियो रघुवीर गोकर्ण र लालबाबुको मन्त्री पद
स्रोतका अनुसार भौतिकपूर्वाधामन्त्री रघुवीर महासेठ, संघीय मामिलामन्त्री लालबाबु पण्डित, श्रममन्त्री गोकर्ण विष्ट, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापालाई हटाइएको छ। तीनै जना पूर्व एमालेको कोटाबाट मन्त्री भएका थिए।
यस्तै कृषिमन्त्री चक्रपाणि खनाल, उद्योगमन्त्री मात्रिका यादव र कृषिराज्यमन्त्री रामकुमारी चौधरीलाई पनि हटाइएको छ। पूर्व माओवादीको कोटाबाट मन्त्री भएका थिए।
मोती दुगडको इन्ट्री
प्रधानमन्त्री ओलीले बसन्त नेम्वाङ, घनश्याम भुसाल, हृदयेश त्रिपाठी र पार्वत गुरुङ, मोती दुगडलाई मन्त्री नियुक्त गरेका छन्। यस्तै लेखराज भट्ट र रामेश्वर राय यादव पनि मन्त्री भएका छन्।
उद्योगपति दुगडलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनाइनेछ। महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा पार्वत गुरुङको नाम गएको छ।
स्रोतका अनुसार नेम्वाङलाई भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय दिइनेछ। भुसाल कृषिमन्त्री हुँदैछन् भने हृदयेश त्रिपाठी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्नेछन्।
भट्ट, राय यादवको मन्त्रालय खुलेको छैन। भट्टलाई श्रम मन्त्री बनाउने सम्भावना छ। यस्तै विमला राई पौडेललाई पनि मन्त्री नियुक्त गरिएको स्रोतको दाबी छ। विमलालाई राज्यमन्त्री बनाउने सम्भावना छ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार उपप्रधान तथा ईश्वर पोखरेल, गृहमन्त्री रामवहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन, सञ्चारमन्त्री गोकुल बस्कोटा र पर्यटनमन्त्री योगेश भट्टराईको जिम्मेवारी यथावत रहनेछ।