काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारभित्रैबाट रसुवा र नुवाकोटमा निर्माण भएको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत आयोजनाको उदघाटन गरेका छन्।
रसुवा र नुवाकोटमा निर्माण भएको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री–ए जलविद्युत् आयोजना उदघाटन प्रधानमन्त्री ओलीले आफ्नो कार्यालयभित्र रहेको ‘वार रुम’ बाट स्वीच थिचेर गरेका हुन्।
काठमाडौंमा प्रधानमन्त्री ओलीले सिंहदरबारबाटै र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले आयोजनास्थल नुवाकोटको किस्पाङ गाउँपालिका–५ सिम्लेबाट एकसाथ उदघाटन गरे।
आयोजनाको पहिलो र दोस्रो युनिट (३०–३० मेगावाट)बाट क्रमशः गत ३ जेठ र १७ साउनबाट परीक्षण उत्पादन सुरु भएको थियो। सोमबार उदघाटन भएसँगै आयोजनाबाट व्यवसायिक रुपमा विद्युत् उत्पादन सुरु हुनेछ। नेपाल विद्युत प्राधिकरणको अनुसार यो आयोजनाले दिनमा १४ लाख ४० हजार युनिट बिजुली उत्पादन गर्न सक्ने छ।