भक्तपुर– राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको रक्षाका लागि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपालाई चुनावमा जिताउनै पर्ने बताएका छन्। मंसिर १४ गते हुने उपनिर्वाचनमा भक्तपुर क्षेत्रनम्बर १(क)मा नेकपाका उम्मेदवार डीपी ढकालको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले सो धारणा राखेका हुन्।
ढकाललाई जिताउन आग्रह गर्दै श्रेष्ठले नेपालको कालापानीलगायतको मिचिएको भूभाग नेकपाले मात्र फिर्ता गराउन सक्ने जनाए।उनले नेकपाको सरकारले कालापानी, लिपुलेक, लिम्पियाधुरा हाम्रो हो भनेर स्पष्ट पारेकाे बताएका छन्। पूर्वउपप्रधानमन्त्री एवम् पराष्ट्रमन्त्रीसमेत रहेका श्रेष्ठले भारतले मिचेको नेपाली भूमि फिर्ता गर्न सरकार दृढतापूर्वक लागेको जिकिरसमेत गरे।
नेकपा प्रवक्ता श्रेष्ठसहित सांसद् महेश बस्नेत, सांसद् रामेश्वर फुयाल, जिल्ला इञ्चार्ज दिलीप प्रजापति, चाँगुनारायण नगरपालिकाका मेयर सोम मिश्र, जिल्ला अध्यक्ष वचन देउजा, अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतलगायत चुनावी कार्यक्रममा सहभागि भएका थिए।