विराटनगर– प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको आर्थिक समृद्धियात्रामा सहकारी प्रत्यक्ष सहभागी हुनुपर्ने बताएका छन्। राष्ट्रसेवक बहुमुखी सहकारी संस्था लिको २१ औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उनले छरिएर रहेका पूँजीलाई एकत्रित गरी कृषिको व्यावसायिकरण, आधुनिकीकरण र रोजगारी सिर्जना गरी प्रदेशलाई समृद्ध बनाउन महत्वपूर्ण योगदान दिन आग्रह गरे।
उनले मुलुकको आर्थिक समृद्धको एउटा खम्बाका रुपमा रहेको सहकारीले जनताको विकास र समृद्धको चाहनालाई पूरा गर्न प्रदेश सरकारसँग हातेमालो गरी हिँड्नुपर्नेमा जोड दिए। मुख्यमन्त्री राईले प्रदेश सरकारले सहकारीलाई व्यवस्थित र प्रभावकारी रुपमा सञ्चालनका लागि ल्याएको सहकारी ऐनको चर्चा गर्दै अब चाँडै बन्ने नियमावली व्यवस्थाबाट उत्पादनमुखी र रोजगारी सिर्जनामा यसको प्रभावकारी कार्यान्वयनले ठोस रुप लिने विश्वास व्यक्त गरे।
उनले प्रदेश सरकारले विकास र समृद्धका लागि गर्न लागेको लगानी सम्मेलनमा पेश गर्ने विभिन्न परियोजनाका विस्तृत अध्ययन प्रतिवेदनमा(डिपिआर)मा सहकारी पूँजी लगानीका लागि स्पष्ट छनोटको प्रस्ताव गरेको जानकारी समेत गराए। सहकारीका अध्यक्ष जीवन काफ्लेले आव २०७६७७ का लागि रु ३३ करोडको आयव्ययको प्रतिवेशन पेश गर्नुभयो भने आव २०७५७६ मा रु ४६ करोडको कारोवार, रु २१ करोड निक्षेप सङ्कलन, रु २३ करोड ऋण लगानी र रु ३१ खुद मुनाफा भएको जानकारी दिए।
सोही अवसरमा मुख्यमन्त्री राईले सहकारीको आर्थिक विकासमा योगदान दिनु हुने रमेश पोखरेललाई दधिराम दाहाल सहकारी पुरस्कारबाट सम्मानित गरे। यसैगरी उनले सहकारीका ज्येष्ठ सदस्य, सहकारी सदस्यका छोराछोरीलाई उच्च शिक्षा अध्ययन गरेकामा सम्मान गरे। विसं २०५५ मा स्थापना भएको उक्त सहकारीमा ६३१ महिलासहित एक हजार ५८१ शेयर सदस्य छन्।
रासस