काठमाडौं–सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र प्रधानमन्त्री केपी शर्मा ओलीबिच भटवार्ता हुँदैछ। मन्त्रीहरुको हेरफेर तथा पार्टी नेतृत्वको जिम्मेवारीको बिषयमा सघन छलफल गर्न उनीहरुले भेट गर्न लागेका हुन्।
बालुवाटार उच्च स्रोतको अनुसार शुक्रबार दिउँसो ३ बजे प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल हुन लागको छ।यसअघि गत बिहीबारै बस्ने भनिएको सचिवालय बैठक पर्याप्त गृहकार्य नपुगेको भन्दै स्थगित हुँदै आएको थियो।
दुई अध्यक्षबीच बहिर्गमनमा पर्न लागेका र नयाँ आउने मन्त्रीहरुका बारेमा निर्णय हुने जनाइएको छ। दुई अध्यक्षको छलफल पछि मात्रै सचिवालय बैठक बस्ने र उक्त बैठकबाट मन्त्रिमण्डल हेरफेरबारे ठोस निर्णय गर्ने नेताहरुको तयारी छ।
एक मन्त्रीले दुई नेताको छलफलमा कुरा मिले शुक्रबार साँझ मन्त्रिपरिषद्को बैठक समेत बोलाउने सम्भावना रहेको जानकारी दिएका छन्।